बाँके । आन्तरिक राजस्व कार्यालय नेपालगन्जका चार जना कर अधिकृतसहित १२ जना कारोना संक्रमण मुक्त भएका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार चार जना कर अधिकृत, चार जना सहायक कर्मचारी र चार जना कर्मचारी परिवार संक्रमण मुक्त भएका हुन् ।
कोरोना संक्रमण देखिएपछि उनीहरूलाई आन्तरिक राजस्व कार्यालयको एक भवनमा बनाइएको अस्थायी आइसोलेसन सेन्टरमा राखिएको थियो । आइसोलेसनमा १४ दिन बसाइँपछि संक्रमण मुक्त भएर उनीहरु घर फर्किएको फोकल पर्सन श्रेष्ठले बताए ।
बाँकेमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेहरुको संख्या पनि बढेको छ । आन्तरिक राजश्व कार्यालयका कर्मचारीसहित आजै बाँकेका ३० जना कोरोनामुक्त भएर घर फर्किँदैछन् ।
आज कोरोनामुक्त भएर घर फर्किनेमा नेपालगन्ज उपमहानगरपालिकाका कर्मचारीहरु पनि रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
उनका अनुसार कोहलपुर र राप्तीसोनारीका एक–एकजना पनि आजै घर फर्किँदैछन् । विहीबार कोरोनामुक्त भएसँगै बाँकेमा कोरोना भाइरस संक्रमण जित्नेको संख्या ४३५ पुगेको छ ।
अहिलेसम्म बाँके जिल्लामा संक्रमितको संख्या ६६३ छ । तीमध्ये हालसम्म बाँकेमा तीन जना संक्रमितको मृत्यु भइसकेको छ ।
सत्यपाटी ।