सूचनाको शक्ति - The Power Of Information

        

खेल अपराध

१३ औं सागमा तीन पाकिस्तानी खेलाडीले जितेका स्वर्ण र कास्य पदक खोसियो

काठमाडौं । गत मंसिरमा नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकुद (साग)मा पाकिस्तानले जितेका तीन पदक खोसिएको छ । एथ्लेटिक्समा सहभागी तीन पाकिस्तानी खेलाडीले जितेका दुई स्वर्ण र एक कास्य पदक खोसिएको नेपाल ओलम्पिक कमिटीले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै जानकारी दिएको हो ।

खेलका दौरान पाकिस्तानका खेलाडीले प्रतिबन्धित औषधि सेवन गरेको पुष्टि भएपछि उनीहरुको पदक खोसिएको हो । पाकिस्तानका एथलेटिक्सका स्वर्ण पदक विजेता मोहम्मद नइम, मेहबुब अली र कास्य पदक विजेता सामी उल्लाहले प्रतिबन्धित औषधी प्रयोग गरेको पाइएको छ । तीन जनामध्ये मुहम्मद र मेहबुबको दोस्रोपटक स्याम्पल टेस्ट गर्दा त्यसको रिर्पोट पनि पोजेटिभ आएको थियो ।

सो रिपोर्टलाई खेलाडीहरुले स्वीकार गरिसकेका छन् । चार सय मिटर हर्डल्समा महबुब अलीको पदक खोसिएसँगै अब भारतका जाबिर मदारी पाले स्वर्ण पदक पाउने छन् । भारतका सन्तोष कुमारले रजत पाउँदा त्यसबेला चौथो रहेका श्रीलंकाका आसंका इन्द्रजितले कास्य पदक प्राप्त गर्नेछन् । यसरी पुरुष ११० मिटर हर्डल्समा स्वर्ण जितेका नइमको पदक खोसिँदा भारतका सुरेन्दर जयकले स्वर्ण हासिल गरेका छन् ।

श्रीलंकाका रोशन धामीकाले रजत तथा भारतकै मेमन पौलोसले कास्य पदक प्राप्त गर्नेछन् । पुरुष १०० मिटर दौडमा कास्य जितेका सामी उल्लाह र महबुब डोपिङमा परेसँगै अब पाकिस्तानले जितेको कास्य पदक बंगलादेशले पाउने भएको छ । उनीहरुलाई वल्र्ड एन्टी डापिङ कोड २०१५ को आर्टिकल १०.८, १०.२.१ र साउथ एशिया ओलम्पिक काउन्सिल एन्टी डोपिङ नियमको आर्टिकल ७.१.१ अनुसार २०१९ को डिसेम्बर ३ देखि २०२३ को डिसेम्बर २ सम्मका लागि निलम्बन गरिएको छ ।

वल्र्ड एनी डोपिङ एजेन्सीको नियम अनुसार सागमा सहभागी खेलाडीहरुको इन कम्पिटिसन डोपिङ कन्ट्रयाक्ट टेस्ट गरिएको थियो । सो परीक्षणअन्तर्गत संकलन गरिएको युरिन स्याम्पल वाडाबाट मान्यता पाएको कतारको दोहास्थित एन्टी डोपिङ ल्याबमा परीक्षणका लागि पठाइएकोमा उनीहरुले शक्तिबद्र्धक औषधि सेवन गरेको पाइएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १६:११