सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणबाट एकैदिन ६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप ६ जनाको मृत्यु भएको छ । ललितपुरका विभिन्न अस्पतालमा तीन र सप्तरी, रुपन्देही र धरानमा एक–एक जनाको मृत्यु भएको हो । ललितपुरको पाटन, किष्ट र मेडिसिटी अस्पतालमा एक–एक जनाको मृत्यु भएको छ ।

पाटन अस्पतालमा जनकपुर घर भएकी ३८ वर्षीया महिलाको उपचारका क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माले जानकारी दिए । मेनेन्जाइटिसकी बिरामी उनी पाँच दिन अघि अस्पताल भर्ना भएकी थिइन् ।

यस्तै ललितपुरको मेडिसिटी अस्पतालमा पनि गएराति उपचाररत एक कोरोना संक्रमतिको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमित जनकपुरका पूर्व मेयर कृष्ण गिरीको मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि उनी २० दिन अगाडी अस्पताल भर्ना भएका थिए ।

उपचारको क्रममा गिरीको मृत्यु भएको उनका छोरा डा. सन्तोष गिरीले बताए । यसैगरी ललितपुरको किस्ट मेडिकल कलेजमा मृत्यु भएकी ७८ वर्षीया महिलामा पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको गएराति सवा १ बजे मृत्यु भएको र आज विहान ९ बजे रिपोर्ट पोजेटिभ आएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिस पाठकले जानकारी दिए । उनलाई यही साउन २६ गते पाटन अस्पतालबाट किस्टमा रेफर गरिएको थियो ।

सप्तरीको डाक्नेश्वरी नगरपालिका घर भई राजविराज नगरपालिका-६ मा बस्दै आएका ७२ वर्षीय वृद्धको मृत्यु भएको छ । हिजो कोरोना संक्रमण पुष्टि भएपछि राति साढे ९ बजे आइसोलेसन लैजाने क्रममा एम्बुलेन्समै उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार उनी उच्च रक्ताचाप, दम र मुटुका रोगीसमेत थिए । यस्तै, रुपन्देहीको बुटवल धागो कारखानास्थित आइसोलेसनमा एक संक्रमितको मृत्यु भएको छ । कपिलवस्तुको कपिलवस्तु नगरपालिका-२ का अन्दाजी ४२ वर्षीय पुरुषको गएराति २ बजे मृत्यु भएको छ ।

कपिलवस्तु नगरपालिका-२ का वडाध्यक्ष रामभजन कलवारका अनुसार ती पुरुषलाई छाती दुख्ने र श्वासप्रश्वासमा समस्या भएपछि चार दिनअघि अस्पताल लगिएको थियो । उनमा हिजोमात्रै कोरोना पुष्टि भएको वडाध्यक्ष कलवारले जानकारी दिए ।

यस्तै रुपन्देहीको बुटवलस्थित बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा कपिलवस्तुका एक युवाको मृत्यु भएको छ । मृत्यु हुनेमा कृष्णनगर नगरपालिका-१० का २५ वर्षीय युवा रहेको छन् ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापालेका अनुसार उनको स्वाब परीक्षणको क्रममा रहेको र रिपोर्ट आउन बाँकी रहेको छ । मृतक युवामा कोरोनाको लक्षण देखिएपछि उपचारको लागि बुटवल पठाइएको थियो ।

यस्तै, सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बुढीगंगा घर भएका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका-२ घर भएका ५५ वर्षीय पुरुषको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार श्वासप्रश्वास र उच्च ज्वरोको समस्यापछि सोमबार प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना भएका उनमा कोरोनाको लक्षण देखिएपछि परीक्षण गर्दा पोजेटिभ देखिएको थियो ।

त्यसपछि उनलाई आइसोलेशनमा भर्ना गरेर उपचार थालिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो । स्वास्थ्य मन्त्रलायले ८३ जनाको कोरोनबाट ज्यान गएको जनाएको छ । पछिल्लो पटक मृत्यु भएकाहरुको भने मन्त्रलायले आधिकारीक पुष्टि गर्न बाँकी रहेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १२:४७