एजेन्सी । रुसले विकास गरेको कोरोनाविरुद्धको विश्वकै पहिलो भ्याक्सिन ‘स्पुतनिक भी’को माग ह्वात्तै बढेको छ । रुसको डाइरेक्ट इन्भेष्टमेन्ट फण्ड (आरडीआइएफ)का प्रमुख किरिल दमित्रिवेले दिएको जानकारी अनुसार विभिन्न २० मुलुकहरुले भ्याक्सिनको माग गरेका हुन ।
ती मुलुकहरुमा ल्याटिन अमेरिकी, मध्यपूर्व र केही एशियाली मुलुकहरु पनि रहेका छन् । दमित्रिवेका अनुसार केही मुलुकसँग सम्झौता पनि भैसकेको छ । अधिक मात्रामा माग भैरहेको भ्याक्सिनको अधिक उत्पादन बारे दमित्रिवेले भने, ‘हामी हाम्रा सहयोगी मुलुकहरुसँग मिलेर विभिन्न ५ मुलुकमा भ्याक्सिन उत्पादनको काम गर्नेछौं । यसबाट हरेक बर्ष ५० करोड डोज तयार हुनेछ ।’
भ्याक्सिनको अधिकभन्दा अधिक डोज उत्पादन गर्ने विषयमा बोल्ने क्रममा किरिलले, गुणस्तरीय र सुरक्षित भ्याक्सिन ‘स्पुतनिक भी’ लगाएर मानवीय जीवन बचाउन विश्व समुदायलाई आग्रह पनि गर्न भ्याए । रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्खोले बताए अनुसार भ्याक्सिनको असर दुई बर्षसम्म रहनेछ । अर्थात खोप लगाएको २ बर्षसम्म कोरोना संक्रमणबाट पूर्ण रुपमा सुरक्षित रहन सकिन्छ । रुसी उपप्रधानमन्त्री तात्याना गोविकोवाले बताए अनुसार यो भ्याक्सिन यहि महिनादेखि चिकित्सकहरुलाई लगाउन सुरु गरिनेछ ।
सत्यपाटी ।