सूचनाको शक्ति - The Power Of Information

        

खोला वारपार गराएको ज्याला २ हजार !

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका यादव विकलाई दल्लीमा आफन्त पुर्याउन जाँदा बाँके खोलामा एक हजार रुपैयाँ तिर्नुपर्यो । खोलामा एक्लै मोटरसाइकल लैजान नसक्दा उनले एक हजार दिएर स्थानीयवासीको सहयोगमा खोला तारे । फेरि फर्कँदा सोही बाटोमा थप एक हजार रुपैयाँ तिर्नुपरेको पीडा यादवले सुनाए ।

पैँतीस किलोमिटर सडकमा अहिले जिपमा जाँदा पनि एक हजार भाडा लाग्ने गर्छ । वर्षायाममा बाटो ठाउँठाउँमा भत्किएको भन्दै ४०० भाडा लाग्ने दूरीमा अहिले एक हजार भाडा लिन थालिएको छ । बाँके खोला सानो हुँदा रुकुमपश्चिम आठबीसकोट नगरपालिकाको सिमबजार र नलगाड नगरपालिकाको कालीमाटीमा सिधा यातायात सेवा सञ्चालन हुन्छन् ।

तर, खोला बढ्ने बित्तिकै बाँके खोलाको दुई किनारामा जिपहरु राखिन्छन् । दुई किनारका काठको फलेकको सहयोगमा खोला तरेर अर्को जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहेको नलगाड नगरपालिका–८ का विष्णुकुमारी खत्रीले बताइन् । बर्सेनि यो ठाउँमा खोलाले दुःख दिने गरेको छ । सोमबारमात्र सोही खोलामा मालवाहक ट्रक फस्दा यातायात सेवा ठप्प भएको थियो ।

जाजरकोट(डोल्पा सडकखण्डको बीचबीचमा १२ खोला छन् । कुनै पनि खोलामा पुल निर्माण भएको छैन । पुल निर्माण नहुँदा तिनै खोलालाई देखाएर यातायात व्यवसायीले चर्को मूल्य असुल्ने गरेका छन् । मोटरसाइकल तार्न प्रतिखोला एक हजार तिर्नुपर्ने बाध्यता छ । खोलामा पानीको बहाव बढेसँगै खच्चडसमेत हिँड्न छाड्छन् ।

ज्यानको बाजी लगाएर खोला तार्दा धेरै पटक घाइते हुनुपरेको खच्चड व्यवसायी मानबहादुर विकले बताए । स्थानीय कमल पुनले भने, ‘यो खोलामा मैले थाहा पाउँदासम्म सात जनाको बगेर मृत्यु भइसक्यो । अझै कतिले ज्यान गुमाउने हुन् थाहा छैन ।’ बाँके खोलामा पुल निर्माण शुरु भए पनि पूरा नहुँदा सर्वसाधारणले दुःख पाउँदै आएका छन् ।

रुकुमपश्चिम, जाजरकोट र डोल्पाका सर्वसाधारण यही खोला तरेर यात्रा गर्छन् । वर्षायाममा खोलाको डर र हिउँदमा धुलाम्य सडकमा यात्रा गर्दा मान्छे नचिनिने अवस्था सिर्जना हुँदै आएको सर्वसाधारणको भनाइ छ । पन्ध्र वर्षसम्म सडकको स्तरोन्नति नहुँदा यात्रुले पीडा भोग्दै आएका छन् । धुर्मेखोलामा पानीको बहाव बढेसँगै सो ठाउँमा पनि जिपहरु तार्न नसकिएको चालक भीमबहादुर बुढाले बताए । रासस

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १०:५२