सूचनाको शक्ति - The Power Of Information

        

लकडाउनले मल अभाव, पहेंलिँदै धान, भौतारिँदै किसान

दाङ । समयमै वर्षा हुदाँ दाङका किसानले यस वर्ष रोपाइँ पनि समयमै सम्पन्न गरे । रोपाइँका बेला लकडाउन भए पनि मलको अभाव थिएन । अहिले धानमा मल लगाउने बेला अभाव भएको छ । धान रोपको २० देखि २५ दिनभित्र युरिया मल हाल्नुपर्ने भए पनि बजारमा मल नपाउँदा किसानहरु भौतारिएका छन् ।

गत वर्षभन्दा यस वर्ष धान उत्पादन धेरै हुने आँकल गरेका किसानहरुलाई मल अभावमा उत्पादन घट्नेमा चिन्ताले सताएको छ । शान्तिनगर–२ अमुवाका किसान नेवबहादुर खड्काले समय मै पानी पर्दा रोपाइँ सहज रुपमा गरे पनि अहिले मल नपाउँदा धान उत्पादनमा घट्ने चिन्ता व्यक्त गरे ।

‘विगतका वर्षहरुभन्दा यस वर्ष धान उत्पादनमा धेरै बृद्धि होला भन्ने लागेको थियो,’ उनले भने, ‘तर, मल नपाउँदा धान नै नहुनेको कि भन्ने चिन्ता लागेको छ । सरकारले किसानहरुलाई मल, बीउ अनुदानमा दिन्छु भन्ने भाषण गरे पनि किसानहरुले केही पाउन सक्दैनौं ।’ सोही ठाउँका किसान शेरबहादुर नेपालीले युरिया मल धान रोप्ने बेला पनि नपाएको र अहिले पनि नपाएको गुनासो गरे ।

मलका लागि वडा कार्यालयलगायत विभिन्न ठाउँमा गए पनि नपाएको उनको भनाइ छ । ‘पहिला मल हुने बेला पहुँच भएका घरघरमा मल आयो,’ उनले भने, ‘तर हामी जस्ता किसानहरुले मल पाएनौं । न मैले रोप्न बेला मल पाएँ, न अहिले पाएको छु ।’ किसान कृष्ण पौडेले धान रोपेको २२ देखि २५ दिनभित्र मल हाल्नुपर्ने भए महिना दिनसम्म मल नपाउँदा धान पहेंलो हुँदै गएको बताए ।

सरकारले दिने अनुदानको मल नपाएको बताउँदै बजारमा महँगो मूल्य हालेर किन्न खोज्दा समेत नपाइएको उनको गुनासो छ । ‘अनुदानको युरिया मल एक बोराको एक हजार, डिएपी २३ सय रुपैयाँसम्म पर्दथ्यो,’ उनले भने, ‘बजार मूल्य २५ सयदेखि ३ हजारसम्म छ । त्यही मूल्यमा किनेर ल्याउँभन्दा पनि पाइँदैन । खेतमा गयो, पहेलो धान हेरेर घर फर्किनुको विकल्प छैन ।’

किसानहरुले कहिले मल आउने भन्दै दैकिन रुपमा आफूहरुलाई फोन गर्ने गरेको परिर्वतन सहकारी तुलसीपुर–३ का व्यवस्थापक प्रेम तिवारीले बताए । उनका अनुसार दैनिक सयौँ किसानहरुले मल कहिले आउँछ भनेर सोधीखोजी गर्छन् । तर कृषि सामग्रीमा बुझ्दा भदौको पहिलो साता आउने जानकारी आउने तिवारीले बताए ।

‘धान रोप्ने बेला लकडाउन नै थियो,’ उनले भने, ‘त्यति बेला मल सहज रुपमा पाइएको थियो । तर अहिले लकडाउन नभएको अवस्थामा पाउन सकिएको छैन ।’ दाङमा कृषि सामग्री लिमिटेड र साल्ट ट्रेडिङले अनुदानको मल वितरण गर्दै आएका छन् । सामग्रीले ७० प्रतिशत र साल्ट ट्रेडिङले ३० प्रतिशत अनुदानको मल पाउने गरेका छन् ।

दाङमा कृषि सामाग्रीले तुलसीपुर घोराही र लमहीमा मल बिक्री गर्ने गर्दछ भने साल्ट ट्रेडिङले घोराही क्षेत्रका लागि मात्र बिक्री गर्ने गरेको छ । सामग्रीका अनुसार केही मात्रमा डिएपी र पोटास मल भए पनि युरिया मल अहिलेसम्म आएको छैन । भदौको पहिलो साताभित्र आउन सक्ने जनाइएको छ । साल्ट ट्रेडिङ घोराहीका प्रमुख आनन्द न्यौपानेले करिब १२ बोरा युरिया मल वीरगञ्जबाट आएको बताए । उनले भारतको कोलकताबाट मल आउन लागेको बताए ।

प्रकाशित मिति : २८ श्रावण २०७७, बुधबार १०:३३