सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

भेरी अस्पतालमा स्वचालित मेसिनबाट कोरोना परीक्षण, अब दुई घण्टाभित्रै रिपोर्ट

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा थ्रोट स्वाब परीक्षण गर्ने स्वचालित आरएनए एक्स्ट्राक्सन मेसिन जडान गरिएको छ । कोरोना परीक्षण छिटोछरितो बनाउन अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन जडान गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार स्वचालित मेसिन जडान भएपछि कोरोना परीक्षण रिपोर्ट चाँडै प्राप्त गर्न सकिनेछ । हाल स्वाब नमुना परीक्षण गर्न ४ देखि ६ घण्टा लाग्ने गरेकोमा अब पीसीआर मेसिनमा राखेको दुई घण्टाभित्रै रिपोर्ट आउने थापाले बताए । अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ ।

संकलित स्वाब नमुना परीक्षणका लागि चार वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेको आरएनए हुन्छ । सबैभन्दा पहिले यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटिक आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ । उनका अनुसार मेसिन सञ्चालनपछि परिक्षणको दायरा बढ्ने र छिटो रिपोर्ट दिन सकिनेछ ।

‘मेसिन जडान नहुँदा दैनिक तीन–चार सय स्वाब परीक्षण हुन्थ्यो, अब दैनिक ६–८ सय वटासम्म स्वाब नमूना परीक्षण गर्न सकिन्छ,’ मेडिकल सुपरिटेन्डेन्ट डा.थापाले भने, ‘हातले गर्ने काम मेसिनले हुने भएपछि छिटो हुने नै भयो ।’ भेरी अस्पतालमा एउटा मात्र पीसिआर मेसिन छ । उक्त मेसिनमा एकपटकमा ७२ वटा स्वावको परीक्षण हुने गरेका छन् ।

प्रयोगशालामा अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरेसँगै अर्को पीसिआर मेसिनको समेत आवश्यकता पर्नेछ । अस्पतालमा कोरोना परीक्षणका लागि अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडानपछि प्रयोगशालामा थोरै समयमा धेरै स्वाब नमुना परीक्षण गर्न सकिने भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले बताए ।

उक्त मेशिन जडानले घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई अव केही सहज पनि हुनेछ । प्रदेश नं. ५ मा भेरी अस्पतालसँगै प्रदेश नं. १ को धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं. २ को नारायणी अस्पताल वीरगञ्ज, गण्डकी प्रदेशको प्रादेशिक अस्पताल पोखरा, कर्णाली प्रादेशिक अस्पताल सुर्खेत, सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पताल, धनगढीमा पनि अटोमेटिक आरएनए एक्स्ट्राक्सन मेसिन जडान भइरहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार १६:०९