बाँके । बाँकेमा लगाइएको निषेधाज्ञा फेरि तीन दिन थप गरिएको छ । १७ गते मध्यरातबाट लागु हुने गरी तीन दिनका लागि लगाइएको निषेधाज्ञा दोस्रो पटक फेरि ३० गते शुक्रबार मध्यरातसम्मका लागि थपिएको छ । तर, यो अवधिमा कोरोना संक्रमितको संख्या घट्नुको साटो उच्च संख्यामा बढिरहेको छ ।
संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञामा कडाई गर्दै समय बढाइरहेको छ । तर, संक्रमितको वृद्धिदर भने उच्चरुपमा बढिरहेको छ । संक्रमितको संख्या दैनिकरुपमा थपिँदै जान थालेपछि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार निषेधाज्ञालाई थप तीन दिन थपेर ३० गते शुक्रबारसम्म बढाइएको हो ।
निषेधाज्ञा लम्बिरहेको छ, तर कोरोना संक्रमणको ग्राफ दैनिकरुपमा उकालो चढिरहेको छ । संक्रमितको संख्या अस्वाभाविक रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले गत शनिबार राती १२ बजेदेखि आज राती १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोड पूर्वको क्षेत्रलाई पूर्णरुपमा ‘शिल’ गरेको छ ।
जिल्लामा ठूलो संख्यामा संक्रमित फेला पर्न थालेपछि निषेधाज्ञामा थप कडाई गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब संकलन र परीक्षणको दायरा बढाउन निषेधाज्ञा लम्ब्याइएको प्रजिअ कुरुम्वाङ्गले बताए ।
सत्यपाटी ।