बाँके । बाँकेको नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमित महिलाले जन्माएको शिशुको मृत्यु भएको छ । रुकुम पश्चिम चौरजहारीकी २८ वर्षीय महिलाले २४ गते राति २ किलो ७ सय ग्राम तौलको छोराको जन्म दिएकी थिइन् ।
उनको उपचारको क्रममा सोमबार बिहान एक बजे मृत्यु भएको अस्पतालका उपनिर्देशक डाक्टर दिनेश श्रेष्ठले जानकारी दिएका छन् । बच्चाले आमाको पेटमै दिसा गरेकोले अप्रेशन गरी निकालिएको भए पनि दिसा खाइसकेकोले बचाउन नसकिएको उनको भनाइ छ ।
‘मिति पुगेर जन्मिएको हो । दिसा खाइसकेको हुनाले बचाउन सकिएन,’ उनले भने । महिला प्रसूति हुन भेरी अस्पताल नेपालगन्जमा भर्ना भएकी थिइन् । ज्वरो आएकोले पीसीआर जाँच गर्दा उनको कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई शनिबार लेवल–३ अस्पताल कोहलपुर लगिएको थियो ।
बच्चा बचाउन नसकिए पनि हाल आमाको अवस्था भने सामान्य नै रहेको उपनिर्देशक श्रेष्ठले बताए । मृत्यु भएपछि बच्चाको पीसीआर जाँच गरिएको थियो । उनको रिपोर्ट भने नेगेटिभ आएको श्रेष्ठले जानकारी दिए । महिलाका श्रीमान पनि कोरोना पोजेटिभ छन् । उनी बाँकेमै आइसोलेसनमा छन् ।
सत्यपाटी ।