सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नरैनापुरका अध्यक्ष लखनउतिर, स्थानीय भन्छन्, ‘फर्किएपछि क्वारेन्टिनमा बस्नुपर्छ’

बाँके । बाँके नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाह तीन दिनअघि स्वास्थ्य उपचारको सिलसिलामा भारत लखनउ पुगेका छन् । रुघाखोकी सम्बन्धी समस्या भएपछि शनिवार अध्यक्ष शाह भारततर्फ गएको पारिवारिक श्रोतले जनाएको छ ।

भारतमा अहिले उच्चरुपमा कोरोना संक्रमण फैलिएका कारण अध्यक्ष शाहको भारत भएको खबरले स्थानीयस्तरमा चिन्ता बढाएको हो । भारत वा अन्य देशबाट आउने ब्यक्तिलाई क्वारेन्टिनमा बस्नुपर्ने विश्व स्वास्थ्य संगठनको मापदण्डलाई मध्यनजर गरि स्थानीय युवाहरुले अध्यक्षसमेत फर्किएपछि क्वारेन्टिनमा बस्नुपर्ने माग अघि सारेका छन् ।

‘भारत वा विदेशबाट आउँदा अनिवार्यरुपमा १४ दिन क्वारेन्टिनमा बसेर कोरोना जाँच गराउनु पर्छ,’ स्थानीय युवा हरिवंश मौर्यले, ‘एकपटक कोरोनाको कहर खेपेको क्षेत्रमा पुनः ब्यक्ति विशेषले संक्रमणलाई निम्तो दिन मिल्दैन ।’ नरैनापुर–१ का अध्यक्ष मोलहे शेष र वडा नं.२ का अध्यक्ष मसूद अहमद शाहले अध्यक्ष शाह लखनउ गएको पुष्टि गरेका छन् ।

यद्यपि गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रले आफुलाई अध्यक्ष कहाँ गएको भन्ने आधिकारिक जानकारी नरहेको बताए । ‘अध्यक्ष फर्किएपछि अनिवार्यरुपमा आमजनता बसेकै क्वारेन्टिनमामा बस्नुपर्छ,’ वडाध्यक्ष शेषले भने, ‘नियम आमनागरिक र नेता सबैका लागि समानरुपमा लागु हुनुपर्छ । यसअघि पनि उनी भारत गएको तर क्वारेन्टिनमा नबसेको पाइएको थियो,’ नरैनापुर–५ का स्थानीय देवराज यादवले भने, ‘कसैका कारण कोरोना संक्रमण फेरि फैलिन दिनुहुँदैन ।’

प्रकाशित मिति : २७ श्रावण २०७७, मंगलवार ०८:१९