काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व मंगलबार देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ ।
आज कै दिन भगवान् श्रीकृष्णको जन्म पिता वासुदेव र माता देवकीको कोखबाट द्वापर युगमा भारतको मथुरामा भएको शास्त्रमा वर्णित गरिएको छ । भगवान् श्रीकृष्णलाई ज्ञान, कर्म र भक्ति योगका संस्थापकका रूपमा मानिन्छ । ‘धर्तीमा दुष्ट र पापीको अत्याचार रहँदा म पुनः धर्तीमा आउने छु र धर्मको उत्थान गर्नेछु,’ भन्ने उद्घोषलाई मनन गर्दै कृष्णाष्टमी मनाउने गरिन्छ ।
यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको विश्वास गरिन्छ ।
भक्तजनहरुले भगवान् श्रीकृष्णको बाल्यकालको बाल सुलभता, गोपिनीसँगको प्रेम स्नेह र बाँसुरीको धुनद्वारा सबैलाई मोहित गराउने प्रेमगाथालाई आजसम्म संस्मरण गर्दै आएका उनको पूजा–आराधना गर्दै आएका छन् । आश्विन शुक्ल अष्टमीको कालरात्रि, कात्तिक कृष्ण औँसीको सुखरात्रि, फागुन कृष्ण तृतीयाको महाशिवरात्रि र यो भाद्र कृष्ण अष्टमीको मोहरात्री गरी यी चार रातको निकै महत्व रहेको शास्त्रमा वर्णित छ ।
कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ ।
कृष्ण प्रणामी, कृष्णभक्तको अन्तर्राष्ट्रिय संस्था इस्कोनले विश्वभर नै आफ्नो संस्थामा भव्यताका साथ जन्माष्टमी मनाउँदै आएको छ । आज देशभरका कृष्ण मन्दिरहरुमा पनि भक्तजनको भीड लाग्ने गर्छ । तर यस बर्ष कोरोना संक्रमणका कारण कृष्ण मन्दीरहरुमा भक्तजनको उपस्थिति शुन्य देखिएको छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ । यस वर्ष कोरोना महामारीका कारण घरमै बसेर कृष्णाष्टमी मनाउन समेत आग्रह गरिएको छ ।
सत्यपाटी ।