शव पहिचानमा असहज भएपछि प्रहरीले सार्वजनिक गरेको तस्वीर
काठमाडौं । काठमाडौंको गोंगबुमा विभत्स हत्या गरिएका व्यक्तिको पहिचान खुलेको छ । छेदविच्छेद अवस्थामा भेटिएको शवको पहिचान नभएपछि आज (सोमबार) बिहान महानगरीय प्रहरी परिसर काठामाडौंले पहिचानको लागि तस्वीर सार्वजनिक गरेको थियो ।
आइतवार टोखा नगरपालिका–१० गोंगबु गणेशथानमा सुटकेशमा भेटिएको शवको प्रहरी कार्यालयमा आएर उनलाई चिन्ने व्यक्तिले पहिचान खुलाएको महानगरीय प्रहरी कार्यालय प्रमुख डीआइजी विश्वराज पोखरेलले बताए । उनी दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ । शरीर र टाउको छुट्टाछुट्टै स्थानका अवस्थामा फेला परेको थियो ।
फोटो सार्वजनिक गरेकै दिन उनको पहिचान खुलेको हो । उनको हत्या किन र के कारणले गरेको हो ? र कसले गर्यो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठोरले बताए । आइतबार टाउको र खुट्टा नभएको शव भेटिएपछि प्रहरीले कुकुरको सहयोगमा त्यसको ३०० मिटर पर टाउको र खुट्टा भेटेको थियो ।
मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । आइतबार बिहान ७ बजे गोंगबुका स्थानीयले सडकछेउमा फालिएको सुटकेशबाट रगत बगेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अपराध महाशाखा र काठमाडौं प्रहरीले हत्याबारे अनुसन्धान गरिरहेको छ ।
सुटकेश र जेब्रा झोला राखिएका ठाउँ सिसिटिभीको कभरेजमा छैन । सुटकेश गोंगबु चोकभन्दा करिब एक सय मिटरको दूरीमा राखिएको थियो । त्यस आसपास क्षेत्रमा गोंगबु चोकमा मात्र सिसिटिभी क्यामेरा रहेको छ ।
सत्यपाटी ।