सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परिक्षण आजबाट गरिने

काठमाडौं । राष्ट्रिय फुटबल टिमका खेलाडीको कोरोना परिक्षण आजबाट (सोमबार) गरिने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारीका लागि प्रशिक्षणमा सहभागी हुन लागेका खेलाडीको कोरोना परिक्षण गर्न लागेको हो । एन्फाले खेलाडीको परिक्षण पाटन अस्पतालमा गरिने जनाएको छ ।

दुई दिनभित्रमा खेलाडी, अफिसियल र होस्टेल पदाधिकारीको पीसीआर जाँच गरिने एन्फाले जनाएको छ । एन्फाले ३४ खेलाडीसहित, प्रशिक्षक, अफिसियल र होस्टेल पदाधिकारी गरी ७० जनाको पीसीआर गर्ने बताएको छ ।

विश्वकप छनोटका लागि एन्फाले राष्ट्रिय फुटबल टिमको प्रशिक्षण भदौ १ गतेबाट सुरु गर्ने तयारी गरेको छ । फिफा विश्वकप २०२२ छनोट अन्तर्गत आगामी दिनमा नेपालले तीन होम खेल खेल्दैछ । दशरथ रंगशालामा हुने तीन खेल असोज र कार्तिकमा आयोजना हुनेछ ।

नेपालले असोज २२ गते चाईनिज ताईपेसँग खेल्दैछ भने त्यसको ५ दिनपछिनै एसियाली पावर हाउस अष्ट्रेलियाको सामना गर्नेछ । यस्तै समूह चरणको अन्तिम खेलमा नेपालले कात्र्तिक २७ गते जोर्डनको आतिथ्यता प्रदान गर्नेछ ।

समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । चाईनिज ताईपेलाई पराजित गरेको नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।

प्रकाशित मिति : २६ श्रावण २०७७, सोमबार ०९:५५