सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमित ७० बर्षिय महिलाको मृत्यु

बाँके । कोहलपुरमा एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गराइरहेकी ती महिलाको आइतबार दिउँसो मृत्यु भएको हो । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षिय बृद्धालाई कोरोना संक्रमणबाट गाह्रो भएपछि अस्पताल भर्ना गरिएको थियो ।

हालसम्म बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ । मृतकको अन्तिम दाहसंस्कारका लागि तयारी भइरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए । कोरोना भाइरस संक्रमणबाट २४ घन्टामा ३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

कोरोना संक्रमित कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय पुरुषको शनिबार राति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मधुमेहका रोगी ती पुरुषमा साउन १७ गते कोभिड–१९ पुष्टि भएको थियो । त्यसपछि उनी अस्पतालको आईसीयूमा भर्ना भइ उपचाररत थिए ।

यस्तै, पर्सा वीरगन्ज महानगरपालिका–२ बस्ने २० वर्षीया महिलाको शनिबार दिउँसो मृत्यु भएको छ । हाइपो थाइरोडिजमकी बिरामी ती महिलालाई थप उपचारका लागि नारायणी अस्थायी कोरोना विशेष अस्पतालमा पुर्याइएको थियो । अस्पतालममा पुर्याउने बित्तिकै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । मृत्युपश्चात ती महिलाको स्वाब परीक्षण गर्दा आइतबार कोरोना पुष्टि भएको मन्त्रालयले बताएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतवार १७:५७