सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा कोरोना संक्रमणको ग्राफ उच्च, इन्स्पेक्टरसहित ३० जना प्रहरी संक्रमित

बाँके । बाँकेमा लगाइएको निषेधाज्ञाको आठौं सातौं दिन । यहाँ आइतबारदेखि निषेधाज्ञा जारी छ । आइतबारदेखि मंगलबारसम्म तीन दिनका लागि लगाइएको निषेधाज्ञा आगामी मंगलबारसम्म थपेर नौं दिन पुर्याइएको छ । यो अवधिमा कोरोना संक्रमणको ग्राफ घट्नुको उच्चरुपमा उकालो चढिरहेको छ ।

संक्रमितको संख्या अस्वाभाविक रुपमा बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राती १२ बजेदेखि यही साउन २७ गते राति १२ बजेसम्मका लागि नेपालगन्ज उपमहानगरपालिकाको सुर्खेत रोड पूर्वको क्षेत्रलाई पूर्णरुपमा ‘सिल’ गरेको छ । तर, संक्रमण दर दैनिकरुपमा बढिरहेको छ ।

बाँकेमा आइतबारमात्रै ४८ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको छ । संक्रमित देखिएका ५१ जनामध्ये ४८ जना बाँकेका रहेका छन् भने तीन जना दाङ्गका रहेका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक सहित ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि वडा प्रहरी कार्यालयका प्रहरीलाई कोरोना भाइरस देखिएपछि वडा सिल गर्दै वडा प्रहरी कार्यालयका प्रहरी, थुनुवा र प्रहरीका परिवार गरि ८० जनाको स्वाब परीक्षण गरिएको थियो ।

जिल्लामा ठूलो संख्यामा संक्रमित फेला पर्न थालेपछि निषेधाज्ञामा थप कडाई गरिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गले जानकारी दिए । समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी स्वाब संकलन र परीक्षणको दायरा बढाउन नगर क्षेत्रको अतिजोखिमयुक्त क्षेत्र सिल गरिएको प्रजिअ कुरुम्वाङ्गले बताए ।

सिल गरिएको क्षेत्रमा एम्बुलेन्स, दमकल र शववाहनबाहेक सबै प्रकारका सवारीका साधन र व्यक्तिको हिँड्डुलमा समेत रोक लगाइएको उनले जानकारी दिए । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकको निर्णय अनुसार स्थानीय प्रशासनले नेपालगन्जको गणेशमान चोक, चार बाहिनी क्षेत्र, बाँकेगाउँ, रिङरोड, नहरपुरवा हुँदै बसपार्क र पुष्पलाल चोकसम्मको क्षेत्रमा नेपाली सेनासहित ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतवार १७:०२