सूचनाको शक्ति - The Power Of Information

        

विकास

ट्याङ्कर पार्किङ्ग व्यवस्थित गर्दै आयल निगम, ‘एक बर्षभित्रै अत्याधुनिक पार्किङ्गस्थल’

बाँके । नेपालगन्ज उपमहानगरपालिका–२० मा नेपाल आयल निगमको इन्धन डिपो छ । जुन पश्चिम नेपालकै धेरै भण्डारण क्षमता भएको डिपोमध्येमा पर्दछ । डिपोको नजिकै विमानस्थल छ, सर्वसाधारणदेखि भिआइपीसम्मको आउजाउको उस्तै चाप रहन्छ । सडक साँघुरो छ, सडकको दायाँबायाँ लस्करै ट्याङ्कर पार्किङ्ग गरिएको हुन्छ ।

दैनिक एक सय बढी ट्याङ्कर इन्धन बोकेर आउजाउ गरिरहन्छन् । भारतबाट इन्धन बोकेर आउने ट्याङ्करले डिपोमा इन्धन खाली गरेपछि सडकमै आएर पार्किङ्ग हुनुपर्छ । ट्याङ्कर पार्किङ्गका लागि अहिलेसम्म निश्चित पार्किङ्ग छैन । सडकमै ट्याङ्कर पार्किङ्ग गर्नुपर्दा पैदल यात्रुलाई समेत आउजाउमा समस्या छ भने दुर्घटनाको जोखिम पनि उस्तै छ ।

राझाँ चोकदेखि पूर्वतर्फ रहेको आयल निगमको इन्धन डिपो वरपर लस्करै ट्याङ्कर पार्किङ्ग भइरहेका हुन्छन् । राझाँको मूख्य सडकदेखि बजार क्षेत्र वरपर अव्यवस्थित ट्याङ्कर पार्किङ्गले विमानस्थलको प्रवेशद्वार समेत रहेको उक्त सडक क्षेत्र नै कुरुप देखिन्छ । सडकको एक छेउतिर ट्याङ्कर पार्किङ्गस्थल नै बनेको देखिन्छ ।

तर, अबको केही समयमा अस्तव्यस्त ट्याङ्कर पार्किङ्गको यो समस्या भने पुरै समाधान हुने भएको छ । यसै आर्थिक बर्षभित्र सक्ने गरी ट्याङ्कर पार्किङ्गलाई व्यवस्थित गर्न अत्याधुनिक पार्किङ्गस्थल निर्माण हुने भएपछि अब राँझा चोकदेखि आयल निगमसम्मको सडक खण्डमा जथाभावी ट्याङ्कर पार्किङ्गको समस्या समाधान हुने भएको छ ।

नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जले ट्याङ्कर पार्किङ्गलाई व्यवस्थित बनाउन निगम परिसरमा रहेको ११ कठ्ठा जग्गामा पार्किङ्गस्थल निर्माण गर्न लागेको छ । पार्किङ्गस्थल निर्माणका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको इन्धन डिपो नेपालगन्जका प्रमूख नवविनोद पोख्रेलले जानकारी दिए ।

उनका अनुसार एकै पटक ५० वडा ट्याङ्कर पार्किङ्ग गर्न मिल्ने गरी पार्किङ्गस्थल निर्माण गर्न लागिएको हो । ‘एक करोड ९० लाख लागत अनुमान गरिएको छ । भदौं १५ भित्र ठेक्कामा गइसक्छ । यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढ्नेछ । निर्माण पुरा भएपछि घनाबस्तीमा अव्यवस्थित पार्किङ्ग गर्नुपर्ने समस्या हट्नेछ,’ डिपो प्रमूख पोख्रेलले भने ।

निगमले ट्याङ्कर पार्किङ्गको चाप धेरै भएकाले ५० भन्दा बढी ट्याङ्कर पार्किङ्गका लागि अस्थायी पार्किङ्गस्थल पनि निर्माण गर्ने भएको छ । त्यसका लागि नेपाल वायुसेवा निगमको १२ कठ्ठा जग्गा लिजमा लिएर अस्थायी पार्किङ्गस्थल निर्माणको तयारी पनि सँगसँगै अघि बढाएको डिपो प्रमूख पोख्रेलले जानकारी दिए ।

भारतवाट पेट्रोलियम पदार्थ वोकेर आएका एवं तेल भर्न जाने ट्याङ्कर पार्किङ्गस्थल निर्माणपछि राँझाको मुख्य सडक क्षेत्रमा वर्षौदेखि गरिँदै आएको सडकको पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकरको पार्किङ्ग समस्या समाधान हुनेछ । पार्किङ्गस्थल निर्माणपछि पार्किङ्गको समस्या पूर्णरुपमा समाधान हुने पनि डिपो प्रमूख पोख्रेलले बताए ।

प्रकाशित मिति : २५ श्रावण २०७७, आइतवार १०:०८