बाँके । नेपाल आयल निगमले नेपालगन्जमा आफ्नै पेट्रोल पम्प सञ्चालन गर्ने भएको छ । झण्डै तीन करोड रुपैयाँको लागतमा ‘केमिकल फोम’सहितको अत्याधुनिक पेट्रोल पम्प निर्माण हुने निगमले जनाएको छ । पश्चिम नेपालकै नमूनाका रुपमा निर्माण हुने पम्प निगमको आफ्नै ११ कठ्ठा जग्गामा बन्न लागेको हो ।
पेट्रोल पम्प सञ्चालनमा आएपछि सवारी चालकले सवारी साधनमा इन्धन भर्ने क्रममा सवारी धनीलाई जालझेल गरेर ठग्न पाउने छैनन् । अत्याधुनिक पेट्रोल पम्पमा तेल भर्नका लागि अत्याधुनिक डिस्पेन्सिङ्ग जडान हुने नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमूख नवविनोद पोख्रेलले जानकारी दिए ।
उनका अनुसार सवारी साधनमा इन्धन भर्दा सवारी चालकलाई अनिवार्य बील दिइने र इन्धन कति मात्रामा भरेको जानकारी सवारी धनीको मोवाइल नम्बरमा सवारी साधनको नम्बरसहितको म्यासेज (एसएमएस) इन्धन भर्ने बित्तिकै सवारी धनीको मोवाइलमा पुग्ने हुँदा चालकले सवारी धनीलाई जालझेल र ठगी गर्न पाउने छैनन् ।
अत्याधुनिक पेट्रोल पम्पको हाताभित्रै सवारी साधन मर्मतका लागि वर्कसप, कफिसप र अत्याधुनिक शौचालय निर्माण हुनेछन् । पेट्रोल पम्पभित्रका बन्ने भवन तथा संरचनाहरुमा अत्याधुनिक एसी जडान गरी वातानुकुलित बनाइने पनि इन्धन डिपो नेपालगन्जका प्रमूख पोख्रेलले जानकारी दिए ।
उनका अनुसार यसै आर्थिक बर्षभित्र सम्पन्न गर्ने गरी भदौं १५ गतेभित्र अत्याधुनिक पेट्रोल पम्पमा निर्माणका लागि ठेक्का सम्झौता भइसक्नेछ । ‘अहिले टेण्डर मुल्यांकनको काम भइरहेको छ,’ डिपो प्रमूख पोख्रेलले भने, ‘यसै आर्थिक बर्षभित्र काम सक्ने गरी भदौ महिनाबाटै पेट्रोल पम्मको निर्माण सुरु हुनेछ ।’
अत्याधुनिक सफ्वेयर जडान गरिएको पम्प नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १० मा सञ्चालनमा आउनेछ । निगमले पम्म सञ्चालनमा ल्याएपछि नीजि क्षेत्रबाट सञ्चालित पम्पहरुबाट इन्धन भर्ने परिमाण नपुग्ने, इन्धनको शुद्धता लगायतका समस्याबाट उपभोक्ताले मुक्ति पाउनेछन् भने नीजि क्षेत्रका पम्पहरुलाई पनि स्तरोन्नती गर्नुपर्ने दवाव र चुनौति बढ्नेछ ।
सत्यपाटी ।