सरकारले नागरिकको जीवनरक्षाका लकडाउन र निषेधाज्ञा विगत ६ महिनादेखि लागु गर्दै आइरहेको छ । तर यो कस्तो जीवनरक्षा हो जहाँ बढ्दै गएको बेरोजगारीले गर्दा जनता भोकभोकै मर्न थालेका छन् । विगत ६ महिनादेखि जनताहरु बेरोजगारीका कारण भोकमरीको शिकार भइरहेका छन् ।
जब संक्रमित संख्या थोरै थिए, त्यतिबेला सेनिटाइज गरियो । जब थोरै समय भएको थियो, लकडाउनलाई र मजदुरका घरमा अलिअलि खाने व्यवस्था थियो । त्यतिबेला हतारहतारमा राहत वितरण गरियो । अहिले अवस्था दयनीय छ, जनता खाना नपाएर भोकले छटपटिँदैछन् आत्महत्या गर्न बाध्य छन्, तब तिनको कसैलाई वास्तै छैन ।
ठुलाबडा, धनीमानी, हुनेखाने र तलब बुझ्नेहरुले दिनकै सोसल मिडियामा लेख्छन्, अझै कडाइ साथ लकडाउन गर्नुपर्यो, लकडाउनबिना विकल्प छैन, जस्ता पोष्ट तिनले नै लेखिरहेछन्, जसलाई सबथोक पुगेको छ । यसरी हेर्ने हो भने ठुलाबडा, धनीमानी, हुनेखाने र तलब बुझ्नेहरुलाई घरमा बसेर नि खाना पुग्छ, तर तिनका बारेमा कसले सोच्ने जसका घरमा दिनभरी मजदुरी गरेर मात्र साँझ चूल्हो बल्छ ।
जब कोभिड–१९ कोरोना भाइरसले त्यति असर पारेको थिएन, जब संक्रमितहरु थोरै थिए, तब स्थानीय समुदायदेखि राजनीतिकर्मी समेत मैदानमा उत्रिएर समुदायलाई बेलाबेलामा सेनिटाइज गरेर सामाजिक सञ्जालमा फोटो अपलोड गरेको सबैले हेरेकै हो । साथै राहत वितरण कार्य पनि जोरशोरले चल्यो, जब नागरिक समाज, राजनीतिकर्मी र सरकारले समेत सहभागिता जनायो ।
कहींकसैले खानयोग्य राहत वितरण गरे भने कहीं त अखाद्य वस्तु बाडेर खानापुरी (नाम मात्रको लागि बाँड्ने) काम पनि गरियो । तर पाँच केजी चामलले कति दिनलाई पुग्ने होला र त्यसपछि ती भोका र बेरोजगार परिवार कसरी बाँच्ने होलान् भनी कसैले सोचेनन् वा यो पनि भन्दा फरक पर्दैन् कि त्यसपछि कसरी बाँच्छन् भनी कसैले सोच्न भ्याएनन् ।
यो कस्तो नागरिक जीवनरक्षा हो जहाँ कर जम्मा गर्न जाँदा त्यहाँ लागेको लाम वा भीडले कोरोना सर्दैन । विद्युतको बिल भुक्तानी छुट भनी सरकारले घोषणा गर्यो तर भुक्तानी गर्न जाँदा छुटको समयावधी सकियो भनी पुरा भुक्तानी गराइन्छ । तीन महिनाको घरभाडा छुट भनियो तर त्यो घरधनीमाथि निर्भर भयो कसैले अलि अलि छुट दिए ।
तर कसैले यो भनेर कति पनि छुट दिएनन् कि जब सरकारले कर पुरै लियो सरकारले करमा छुट दिएन् भने हामीले किन दिने भनी पुरै घरभाडा अशुली गरे । अवस्था यहाँसम्म आयो आफ्नो विवाहको दाइजो (खाट, दराज, सोफा आदि) र घरको सरसामान (गरगहना) बेचेर घरभाडा भुक्तानी गर्न बाध्य भए । तर ती परिवारप्रति न समुदायका अगुवा भनाउँदाहरुको ध्यान गयो न पार्टीका नेताहरुको न त सरकार कै ।
यति लामो लकडाउन गरेर पनि हेरियो नतिजा सामुन्ने छ । लकडाउनको सुरुआत चीनले गर्यो तर चीन यसकारण सफल भयो किनभने चीनका जनता शिक्षित छन् र चीनसँग प्राविधिक क्षमता छ, त्यहाँका जनता आर्थिक सम्पन्न छन् र सरकार हरेक तवरले आर्थिक प्राविधिक र मानवीय दक्षता आदिमा सक्षम छ । यसकारण चीनले लकडाउन गरी कोरोनासँग जीत हासिल गर्न सफल भयो ।
तर हाम्रो देशमा न त पर्याप्त संसाधन छ, न सरकार आर्थिकरुपले संक्रमितहरुको स्वास्थ्योपचारको राम्रो प्रबन्ध मिलाउन सकेको छ, न त जनता नै आर्थिकरुपले सबल छन् । तसर्थ कोरोनाबाट बच्न अबको अन्तिम उपाय नागरिक सचेतनामात्र हो । जबसम्म नागरिक गम्भीर भइ पूर्णरुपले सचेत भएर लाग्दैन्न्, तबसम्म कोरोनासँग पूर्णरुपले जीत सम्भव छैन ।
यसकारण अब जनताले आफ्नो सुरक्षा आफै गर्नका लागि सचेत हुन जरूरी छ । कोभिड–१९ कोरोना भाइरसबाट जोगिनका लागि जनता र सरकार दुबैले आफ्नो स्तरबाट आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ । त्यसकारण कोरोनाबाट बाच्नका लागि समुदायस्तरमै सचेतना फैलाउन आवश्यक छ ।
त्यसका लागि सुसूचित गरौं कि सचेत रहौं, सावधानी अपनाऔं, सुरक्षित रहौं र सकभर घरमै बसौं, बिना काम घरबाट बाहिर ननिस्कियौं । बेलाबेलामा साबुनपानीले हात धोऔं । अनिवार्य मास्क प्रयोग गरौं र सार्वजनिक स्थलमा जाँदा दुई मिटरको दूरी अवश्य कायम गरौं ।
शाहिदा शाह वाहिदी ।