सूचनाको शक्ति - The Power Of Information

        

बेतिथि

कोरोना ‘हटस्पट’ नेपालगन्जमा अनियमित विजुली, गर्मीले नागरिकलाई सास्ती

बाँके । ‘यो गर्मीमा नेपालगन्जमा बेखबरी लोडसेडिङ्ग, जनतालाई किन यस्तो सास्ती गर्दैछौं विद्युतका हाकिमहरु हो ?’ बाँकेका विजय चन्दले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कस्तो उखरमाउलो गर्मी हो । यस्तो बेलामा विद्युत झ्याप्प झ्याप्प जान्छ भन्या ! बाँकेका सिडियो सरले विद्युत कार्यालयतिर अनुगमन गर्ने कि ? कोरोना र गर्मी आतंकले धेरै सतायो ।’

पछिल्लो समय फेरि कोरोना संक्रमणको ‘हटस्पट’ रहेको नेपालगन्जमा गर्मीले उस्तै सास्ती दिएको छ । दैनिकरुपमा अघोषित लोडसेडिङ्गको सास्ती नेपालगन्जबासीले व्यहोर्नुपरेको छ । पाँच मिनेटको अन्तरमा झ्याप्प झ्याप्प विद्युत आउने जाने गरिरहन्छ । यो उखरमाउलो गर्मीमा ग्राहकहरुले फ्रिज, पंखा, एसीको प्रयोग गर्नसम्म पाएका छैनन् ।

छिनमा आउने छिनमा जाने भइरहन्छ । अत्याधिक तापक्रमले दिउँसोको समयमा घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । तर विद्युत नहुँदा उम्सोको कारण कोठाभित्र थुनिएर बस्न सक्ने अवस्था पनि छैन । विद्युत कार्यालयको लाहपर्वाहीले नागरिकहरुले अघोषित लोडसेडिङको मार खेपिरहेको स्थानीय श्याम गिरीको भनाई छ ।

नेपालगन्ज फुलटेक्राका सन्तोष बर्मा भन्दै थिए विद्युत आउने र जाने गर्दा विद्युत सट भएर बल्व फुट्यो कोठामा धन्न आगलागी भएन । गर्मी समयमा दैनिकरुपमा अघोषित लोडसेडिङ्गको सास्ती नागरिकले व्यहोर्नुपरेको छ । ‘लो’ र ‘हाइ’ भोल्टेजमा विद्युत आउँदा विद्युतीय सामग्रीमा नोक्सानीसमेत भइरहेको बर्माले बताए ।

नेपालगन्जबासीले चर्को गर्मी झेलिरहेका छन् । घरभित्र पनि आराम बस्न सक्ने अवस्था छैन । विद्युत अनियमितता उस्तै छ । चर्को गर्मीमा विद्युतमात्रै नियमित भइदिने हो भने धेरै राहत हुन्थ्यो । तर, चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै जान्छ । दिनभर गर्मी सहने नेपालगन्जबासीलाई अनियमित विद्युतका कारण राती राम्रोसँग निदाउन सक्ने अवस्था छैन ।

‘विद्युत किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन,’ नेपालगन्ज–५ की सुमित्रा भट्टराई भन्छिन्, ‘गर्मीमा प्राधिकरणले थप पीडा दिन्छ । दिनभर गर्मीमा काम गर्छौ, विद्युत गइरहँदा राम्रोसँग सुत्नसमेत पाइएको छैन ।’ दैनिकजसो एक घण्टामा पाँच पटकसम्म विद्युत काटिने गरेको उनी बताउँछिन् ।

‘कम्तिमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो,’ उनी भन्छिन् । लोडसेटिङ्गको विकल्पमा इन्टभर जडान गरिए पनि लामो समय विद्युत अवरुद्ध हुँदा इन्भटरले धान्न सक्ने अवस्था हुँदैन भने अर्कोतिर लागतसमेत बढ्न जाने भट्टराई बताउँछिन् । बर्षा नभएसम्म यहाँको तापक्रम घट्ने सम्भावना देखिँदैन ।

विद्युत नियमित नहुँदा उखरमाउलो गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । दिनहुँ घण्टौंसम्म बिजुली हुँदैन । लोडसेडिङ अन्त्य भएको भनिए पनि दैनिक तीन चार घण्टा बत्ती गइरहेको छ । औसतमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियस आसपास नै हुन्छ । छिटफुट पानी परे पनि वर्षा भएको छैन, स्थानीयबासी गर्मीले आक्रान्त छन् ।

नेपालगन्जका एक डेरी सञ्चालकले विद्युत नआउँदा फ्रिज विक्रीको लागि राखिएको करिव २० लिटर दुध फाटेर नोक्सानी व्यहोर्नुपरेको बताए । विद्युत नहुँदा नियमित विक्री हुने पेय पदार्थसमेत चिसो हुन नपाएपछि विक्री गर्न नपाएको उनको गुनासो थियो । छिनछिनमा विद्युत जानुको कारणबारे बुझ्दा नेपालगन्ज विद्युत प्राधिकरणले ठोस जवाफ दिदैन ।

गैरसरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहले पहिलो पटक सूचना माग्दा सूचना नदिएको बताए । दोस्रो पटक सूचना माग्दा पनि विद्युत कार्यालय नेपालगन्जले चित्त बुझ्दो जवाफ नदिएको उनले बताए । ठाडो र गैरजिम्मेवार ढंगले विद्युतले सूचना दिएको भन्दै उनले विद्युतले माग गरिएबमोजिम चित्त बुझ्दो ढंगले सूचना नदिएको बताए ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १७:३८