सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको प्रभाव

पेट्रोलियम पदार्थको आयात र विक्री घट्यो, ग्याँस खपत सात प्रतिशतले बढ्यो

बाँके । गत चैतदेखि ११ गतेदेखि लकडाउन सुरु भएपछि गत आर्थिक बर्षमा नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जबाट खपत हुने पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन) आयात र विक्री घटेको छ । आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आव. २०७६/०७७ मा इन्धन आयात विक्री घटेको निगमले जनाएको छ ।

निगमका अनुसार आव. २०७६/०७७ मा कोरोना महामारीसँगै भएको लकडाउनका कारण इन्धन आयात घटेको हो । इन्धन डिपो नेपालगन्जको तथ्यांक अनुसार आव. २०७५/०७६ मा ३८ हजार ४९२ किलोलिटर पेट्रोल आयात भएको देखिन्छ भने सो अवधिमा ३८ हजार ३९४ किलोलिटर विक्री भएको छ । त्यस्तै आव. २०७६/०७७ मा लकडाउनका कारण घटेर ३५ हजार ५७६ किलोलिटर आयात भएको छ भने ३४ हजार ७५८ किलोलिटर विक्री भएको छ ।

यस तथ्यांकले आव.२०७५/०७६ को तुलनामा आव.२०७६/०७७ मा पेट्रोल आयात ८ प्रतिशतले घटेको छ भने विक्री १० प्रतिशतले घटेको देखाएको छ । आव. २०७६/०७७ को साउनदेखि फागुनसम्म पेट्रोल आयात र विक्रीमा सन्तुलन देखिए पनि लकडाउन सुरु भएकाले चैतपछि आयात र विक्री दुवै घटेको निगमको तथ्यांक छ । निगमका अनुसार आव. २०७५/०७६ मा १ लाख ६६ हजार ६५६ किलोलिटर डिजल आयात भएको देखिन्छ भने सो अवधिमा १ लाख ६५ हजार ८९३ किलोलिटर विक्री भएको छ ।

त्यस्तै आव.२०७६/०७७ मा लकडाउनका कारण १९ प्रतिशत घटेर १ लाख ४० हजार २४ किलोलिटर आयात भएको छ भने १८ प्रतिशत विक्री घटेर १ लाख ४० हजार १५६ किलोलिटरमा झरेको छ । डिजल आयात र विक्रीमा पनि २०७६/०७७ को साउनदेखि फागुनसम्म सन्तुलन देखिए पनि लकडाउनपछि आयात र विक्री दुवै घटेको छ । आर्थिक बर्षको अन्त्यतिर विकासे कामहरु बढ्ने र त्यसले इन्धन खपत बढाउने भए पनि कोरोना संक्रमण हुन नदिन गरिएको लकडाउनका कारण आयात र विक्री घटेको नेपाल आयल निगम इन्धन डिपो नेपालगन्जका प्रमूख नवविनोद पोख्रेलले बताए ।

त्यस्तै आव.२०७५/०७६ मा १ हजार ९४० किलोलिटर मट्टीतेल आयात भएको छ । सो अवधिमा १ हजार ९३६ किलोलिटर विक्री भएको छ । आव. २०७६/०७७ मा लकडाउनका कारण २९ प्रतिशत १ हजार ५०२ किलोलिटर मट्टीतेल आयात भएको छ भने २४ प्रतिशत घटेर १ हजार ५६४ किलोलिटर विक्री भएको छ । मट्टीतेल खपत कम हुने हुँदा आव. २०७६/०७७ को असोजदेखि नै विक्री घटेको निगमले जनाएको छ । आव. २०७५/०७६ मा ७ हजार ७९२ किलोलिटर हवाई इन्धन आयात भएको छ भने सो अवधिमा ६ हजार २९३ किलोलिटर विक्री भएको छ ।

आव. २०७६/०७७ मा लकडाउनका कारण २७ प्रतिशत घटेर ५ हजार ६८८ किलोलिटर हवाई इन्धन आयात भएको छ भने विक्री २८ प्रतिशत घटेर ४ हजार ५३३ किलोलिटरमा झरेको नेपाल आयल निगम नेपालगन्ज हवाई इन्धन डिपो प्रमूख मनोहर डिसीले जानकारी दिए । त्यस्तै आव २०७५/०७६ मा खाना पकाउने (एलपी) ग्याँस ३४ हजार ४८४ दशमलव ५४ मेट्रिक टन आयात भएको छ भने त्यति नै विक्री भएको छ । त्यस्तै आव २०७६/०७७ मा ३६ हजार ९५२ दशमलव १६ मेट्रिक टन आयात भएकोमा सोही परिमाणमा विक्री भएको छ ।

यो अवधिमा खाना पकाउने (एलपी) ग्याँस आयात र विक्री ७ दशमलव १६ प्रतिशतले वृद्धि भएको आयल निगमले जनाएको छ । नेपाल आयल निगम नेपालगन्ज डिपो प्रमूख नवविनोद पोख्रेलका अनुसार इन्धन क्षेत्र आयातमुखी र खपतउन्मुख भएकाले मट्टीतेलबाहेक पेट्रोलियम पदार्थको वृद्धिदर उच्च रहे पनि लकडाउनका कारण आयात र विक्रीमा कमी आएको छ । ‘पछिल्लो समयमा मट्टीतेल खपत खुम्चिँदै गएको छ भने अन्य पेट्रोलियम पदार्थको खपत दर बढ्दै गए पनि लकडाउनका गत आवमा आयात र विक्री घटेको देखिन्छ ।’

पेट्रोलियमको स्रोत नभए पनि विद्युत, वैकल्पिक उर्जाका स्रोतमार्फत पेट्रोलियम आयात घटाउन सकिए पनि त्यसो नहुँदा आयात बढेको उनको भनाई छ । पेट्रोल र डिजलको खपत दर बढेसँगै नेपालगन्ज डिपोमा रहेका मट्टीतेल भण्डारण गर्ने ७६० किलोलिटर क्षमताको ट्यांकीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिँदैछ । उनका अनुसार हाल नेपालगन्ज डिपोमा पेट्रोल भण्डारण क्षमता २१० किलोलिटर मात्रै रहेको छ । जुन दुई दिनका लागि मात्रै पुग्छ । मट्टीतेल भण्डारण क्षमता ७६० किलोलिटर रहेको छ, जुन १२६ दिनलाई पुग्छ ।

त्यसैले पनि निगमलाई पेट्रोल भण्डारण क्षमता बढाउनै पर्ने बाध्यकारी अवस्था देखिएपछि मट्टीतेल भण्डारण गर्ने ट्यांकीलाई पेट्रोल भण्डारणका लागि स्थानान्तरण गरिनेछ । यसका लागि टेण्डर प्रक्रिया सुरु भइरहेको डिपो प्रमूख पोख्रेलले जानकारी दिए । त्यसका लागि १ करोड ५० लाख रुपैयाँ लागत अनुमान गरिएको पनि पोख्रेलले जानकारी दिए । ‘मट्टीतेललाई घटाएर पेट्रोलको भण्डारण क्षमता विस्तारका लागि टेण्डर प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

आगामी भदौं १५ भित्र टेण्डर स्वीकृति भएर काम सुरु हुनेछ,’ डिपो प्रमूख पोख्रेलले भने, ‘पेट्रोल भण्डारण क्षमता विस्तार नगर्ने हो भने हालको भण्डारणले माग धान्न पनि धौधौ हुने भएकाले पनि भण्डारण क्षमता विस्तार गर्न लागिएको हो ।’ पेट्रोल भण्डारण क्षमता बढेपछि उपभोक्ताका लागि अझै सहजरुपमा इन्धन आपूर्ति गर्न सकिने डिपो प्रमूख पोख्रेलले बताए । ‘अहिले मट्टीतेलभन्दा पेट्रोलको माग निकै बढ्दो क्रममा रहेको छ,’ उनले भने, ‘सवारीको चापलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल भण्डारण क्षमता विस्तार सुरु गरेको हो ।’

मट्टीतेल ट्यांकीलाई पेट्रोलमा स्थानान्तरण गरिएपछि मट्टीतेल भण्डारण गर्न छुट्टै ट्यांकी जडान गर्न लागिएको छ । ‘७० किलोलिटरका दुई वटा ट्यांकी जडानपछि १४० किलोलिटर मट्टीतेल भण्डारण गर्न सकिने र त्यसले मट्टीतेलको खपत धान्न सक्ने देखिन्छ,’ पोख्रेलले भने । त्यसका लागि ७० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । यसको पनि भदौं १५ गतेभित्रै टेण्डर स्वीकृत गरी काम सुरु हुनेछ,’ डिपो प्रमूख पोख्रेलले भने । हाल नेपालगन्ज डिपोमा डिजल दुई हजार २८० किलोलिटर, हवाई इन्धन २८० किलोलिटर भण्डार गर्ने क्षमताका ट्यांकी रहेका छन् ।

त्यस्तै बाँके र दाङ्गमा ७०८ मेट्रिक टन क्षमतामा खाना पकाउने ग्याँस भण्डारण हुँदै आएको छ । बाँकेमा रहेका दुई वटा भेरी ग्याँस उद्योगमा ५१० र मनकामना ग्याँस उद्योगमा ९० मेट्रिक टन तथा दाङ्गमा रहेको राप्ती ग्याँस उद्योगमा १०८ मेट्रिक टन ग्याँस भण्डारण गर्ने क्षमता रहेको छ । नेपालगन्ज डिपोले साविकको मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेत, जाजरकोट, दाङ्ग, सल्यान, दैलेख, प्युठान, रुकुम, रोल्पा र जुम्ला गरी ११ जिल्लामा इन्धन ढुवानी गर्दै आएको छ । निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी)मार्फत यस क्षेत्रका लागि खपत हुने पेट्रोल, डिजल र मट्टीलेत भारतको गोण्डाबाट आयात गर्दै आएको छ भने हवाई इन्धन इलाहावाद र खाना पकाउने ग्याँस मथुराबाट आयात गर्दै आएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७७, बिहीबार १६:२३