बाँके । बाँके डुडुवा गाउँपालिका–२ उचुवा बाबा कुटीस्थित जीर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनःनिर्माण तथा मर्मत सम्भारको कार्य शुरु गरिएको छ । करिब १५० बर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमा भौतिक संरचनालाई मर्मत नगरिएपछि जीर्ण अवस्थामा भत्किएको छ । गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक तथा पर्यटन क्षेत्रमा टेवा पुग्ने उद्देश्यले मन्दिरको पुनःनिर्माण शुरु गरिएको हो ।
आज मध्यान्हको समय शुभमुर्हुतमा सो मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरे । उनले मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाभित्र थुप्रै धार्मिक मठमन्दिर, मस्जिदहरु रहेकाले केही ऐतिहासिक पुराना संरचना पुनःनिर्माण तथा मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारी अनुरुप पुनःनिर्माण शुरु गरिएको बताए ।
अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द्रहरुको संरक्षण र सम्बद्र्धन गरि पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बजेटको अभावमा सोचे जति गर्न नसके पनि थोरै बजेटबाट शुरुवात गरेको बताए । रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सिता, लक्ष्मण, गणेश, हनुमान, शालीग्रामको ऐतिहासिक मुर्ति रहेको छ । मन्दिरमा भजन किर्तन कोठा, परिक्रमा, गर्भ गिरी, स्टोर कोठाको पुनःनिर्माण शुरु गरिएको छ ।
बाउण्ड्रीसहित मन्दिर निर्माणका लागि करिब रु एक करोड लाग्ने अनुमान गरिएको छ । अहिले पहिलो चरणमा रु १५ लाखबाट निर्माण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताए । करिब ५ कठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा ६ मा १४ विगाह पक्का खेतीयोग्य जमिन समेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताए । मन्दिरमा दशै, रामनवमी, कृष्णा जन्मअष्टमी लगायत अवसरमा भजन किर्तन, भण्डारा, र मेला लाग्ने गर्दछ ।
सत्यपाटी ।