सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली प्रदेश प्रवेश गर्दा पीसीआर रिपोर्ट अनिवार्य

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोनाबाट बच्न व्यक्तिगत सुरक्षामा ध्यान दिन प्रवेशवासीलाई आह्वान गरेका छन् । आज सुर्खेतमा आयोजित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले काठमाडौंको थानकोट प्रवेश गर्दा आवश्यक पर्ने पीसीआर परीक्षणजस्तै कर्णाली प्रवेश गर्नेले पनि त्यही प्रक्रिया पूरा गर्नुपर्ने गरी तयारी भइरहेको बताए ।

मुख्यमन्त्री शाहीले कैलाली र पूर्वी तराईमा खतरनाक कोरोना भाइरस देखिएको बताउँदै ती क्षेत्रबाट कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर जाँच गरिएको कागज देखाउनुपर्ने व्यवस्था गर्न लागिएको बताए । ‘भाइरस संक्रमण बढेको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘यदि नेपालगन्ज आसपासमा भाइरस देखिएको खण्डमा हामी कर्णाली प्रदेशलाई लकडाउन गर्छौं । कर्णाली प्रवेश गर्नेको अनिवार्य पीसीआर रिपोर्ट हेर्छौं । सबैभन्दा ठूलो कुरा नागरिकको ज्यान जोगाउनु हो ।’

मुख्यमन्त्री शाहीले कर्णालीका १८ लाख नागरिकलाई प्रतिव्यक्ति २ मास्क दिएर भए पनि अनिवार्य मास्क लगाउन अभिप्रेरित गर्ने बताए । ‘कर्णालीमा आफैंले खरिद गर्न सक्नेले मास्क खरिद गर्ने र नसक्ने नागरिकका लागि प्रदेश सरकारले प्रतिव्यक्ति २ मास्क दिने तयारी गर्छौं । ती मास्क पुनः प्रयोग गर्न मिल्ने खालका हुनेछन् । यसका अलावा सानो स्यानिटाइजरको डिब्बा पनि वितरण गर्छौं । सूर्ती बोक्नुको साटो स्यानिटाइजर बोक्न नागरिकलाई आह्वान गर्दछु ।’

मुख्यमन्त्री शाहीले गम्भीर खालका बिरामीको उपचारका लागि कर्णालीका दशै जिल्लामा अक्सिजन पठाइने बताए । कर्णालीका विकट जिल्लामा विपद्मा परेका नागरिकको उद्धार गर्न, राहत सामग्री वितरण गर्न एक हेलिकप्टर भाडामा लिइने समेत उनले बताए । सामाजिक विकास मन्त्री दल रावलले कर्णालीमा केही दिनभित्रै दैनिक २ हजार ५०० भन्दा बढी नागरिकको पीसीआर जाँच गरिने बताए ।

‘अहिले हामीसँग चौरजहारीमा एउटा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एउटा, प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा २ वटा र दैलेख अस्पतालमा एउटा पीसीआर मशिनले स्वाब जाँच गरिरहेका छन्,’ उनले भने, ‘अहिले हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल कालागाउँमा ३ वटा अटोमेटिक मशिन आरएनए एक्सटेन्सन जडान गरिरहेका छौं । यो मशिनले २ घण्टामा ४०० जनाको पीसीआर रिपोर्ट दिन्छ ।’

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १७:४५