सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

होटल ह्वाइट हाउस अब ‘आइसोलेशन सेन्टर’, इलाका प्रहरी कार्यालय ‘शील’

बाँके । बाँकेमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुरमा बन्द अवस्थामा रहेको होटल ह्वाइट हाउसलाई ‘आइसोलेशन सेन्टर’ बनाउने भएको छ । बाँके जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को आज बसेको बैठकले कोरोना संक्रमितको संख्या बढ्दै गएकाले थप आइसोलेशन सेन्टरको आवश्यक्ताअनुसार बन्द रहेको होटेललाई ‘आइसोलेशन सेन्टर’ बनाउने निर्णय गरेको हो ।

अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहहरुले पुनः क्वारेन्टिन निर्माण गर्न थालेका छन् । खजुरास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेको छ । आइसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामीको व्यवस्थापनमा समस्या देखिएपछि बन्द रहेको होटेललाई ‘आइसोलेशन सेन्टर’ बनाउने निर्णय गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा बाँकेमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी कार्यालयमा संक्रमण देखिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् । थप एक आइसोलेशन सेन्टरको आवश्यक्ता भएकाले ह्वाइट हाउसमा संक्रमितहरूलाई व्यवस्थापन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले जानकारी दिए ।

पछिल्लो समय सरकारी कार्यालय र नागरिकको स्वास्थ्य परीक्षणमा तीव्रता दिएसँगै बाँकेमा संक्रमितको संख्या बढ्दो छ । बाँकेमा दैनिकजसो कोरोना संक्रमित फेला परिरहेका छन् । जसमध्ये अधिकाँश समुदायका व्यक्ति तथा सरकारी कर्मचारी रहेका छन् । बिगतमा बनाइएका आइशोलेशन सेन्टर बन्द गरिएकाले अहिले फेला परिरहेका संक्रमितको व्यवस्थापन गर्न समस्या भइरहेको छ ।

यस्तै बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयलाई शील गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि कार्यालय शील गरिएको कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । अत्यावश्यकीय कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाइल टोली परिचालन गरिएको छ ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार थुनुवामा कोरोना देखिए पनि अन्य प्रहरी कर्मचारीलाई जनसम्पर्कबाट टाढा राखिएको छ भने कार्यालयमा ओहोरदोहोर पूर्णरुपमा बन्द गरिएको छ । साथै थुनुवामा संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी र थुनुवाहरुको पिसिआर परीक्षण भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले जानकारी दिए ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार १६:१५