सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

परीक्षा सञ्चालन गर्ने निर्णयबाट पछि हट्यो त्रिभुवन विश्वविद्यालय

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित परीक्षा तत्कालै सञ्चालन गर्ने निर्णयबाट पछि हटेको छ । कोरोना सङ्क्रमित बढेका र राजधानी लगायत मुख्य सहरी क्षेत्रसमेत सङ्क्रमणको जोखिममा पर्न सक्ने सम्भावना औँल्याइएपछि विश्वविद्यालयले तत्काल परीक्षाको निर्णय लिने सम्भावना टरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् ।

सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो । विश्वविद्यालयले कोरोना भाइरसपछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् ।

अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ । सङ्क्रमण बढेको अवस्थामा परीक्षाबारे निर्णय लिन नसकिने र यो अवस्थामा परीक्षा सञ्चालन गरिने कार्यतालिका धकेलिने उनको भनाइ छ । परीक्षा सञ्चालनको तयारी गरिए पनि विद्यार्थीसँग सम्पर्क हुन नसकेको र सहजरूपमा सार्वजनिक यातायात सञ्चालन हुन सक्ने परिस्थिति नभएसम्म परीक्षा लिन नसक्ने उनको भनाइ छ ।

विश्वविद्यालयको परीक्षा देशभर एकै पटक लिनुपर्ने भएकाले पनि सङ्क्रमणको अवस्था सामान्य अवस्थामा आउनैपर्ने उनको भनाइ छ । अब परीक्षाका विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूसँग समेत छलफल गरी सम्भावित परिस्थिति आकलन गरिने जानकारी उनले दिए । त्यसपछि मात्रै के गर्ने भन्ने विषयमा निर्णय गर्न सकिने उनको भनाइ छ ।

पुनः बन्दाबन्दी भए विकल्प खोजिने

यसैबीच विश्वविद्यालयले सङ्क्रमण बढ्दै गई पुनः बन्दाबन्दी हुने र अझै केही महिना परीक्षा सञ्चालन हुन नसक्ने स्थिति आए परीक्षा सञ्चालनको नयाँ विकल्पबारे सोच्ने जनाएको छ । परीक्षा नियन्त्रक जोशीले पुनः केही महिनामै बन्दाबन्दी हुने परिस्थिति उत्पन्न भए परीक्षाको विकल्प खोजिने बताए । हाल विश्वविद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा हुने परीक्षाको माध्यमबाट मात्रै विद्यार्थीको मूल्याङ्कन गरी माथिल्लो कक्षामा चढाउने गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७७, मंगलवार ०६:५१