सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

फेरि कोरोना ‘हटस्पट’ बन्दै बाँके, समुदायमा फैलिँदै ‘भुसको आगोसरी’

बाँके । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असार २४ गते बाँकेका तीन वटा स्थानीय तहलाई कोरोना मुक्त घोषणा गर्यो । उक्त घोषणासँगै त्यसबेला जारी रहेको बन्दाबन्दी पूर्णरुपमा खुकुलो बन्यो । घोषणाको २४ घण्टा नबित्दै फेरि कोरोना संक्रमणको दर पुरानै लयमा फर्कियो । स्वास्थ्य कार्यालयको घोषणापछि समुदायस्तरमै कोरोना संक्रमण फैलिएको छ ।

चाडपर्वहरु नजिकिँएसँगै यहाँका चिया पसल, मिठाई पसल, नास्ता पसलदेखि ठूला डिपार्टमेण्टल स्टोरहरु स्वास्थ्य सुरक्षा मापदण्ड नअपनाएरै खोलिए । साथै सेवाग्राहीहरुको भीडभाड हुने सरकारी कार्यालयसमेत स्वास्थ्य सुरक्षा र सतर्कता नअपनाएरै सञ्चालन भए । बजारमा नागरिकहरुको भीडले पनि कोलाहल नै मच्चायो । मास्कबिनै नागरिकहरु हिँड्डुल गर्न थाले ।

यही मौकामा कोरोना ‘यत्रतत्र सर्वत्र’ भनेझैं ‘भुसको आगोसरी’ सबैतिर फैलियो । सुरुवातमा कहिँकतै ‘ट्राभल हिष्ट्री’ नभएका तर, सेवाग्राहीको अध्याधिक चाप हुने यातायात व्यवस्था कार्यालयका एक जना महिला कर्मचारी र त्रिभूवन चौकमा मिठाई पसल गर्दै आएका एक जना पुरुषमा देखिएको कोरोना संक्रमणले समुदायस्तरमै प्रवेश गर्यो ।

त्यसयता आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमा देखिएपछि कार्यालय नै आइसोलेशन सेन्टरका रुपमा परिणत भयो । त्यसको केही दिनपछि बाँके जिल्ला अदालत र बाँकेमा कार्यरत स्वास्थ्यकर्मी पनि कोरोनाबाट संक्रमित भए । सरकारी कार्यालयलाई निसाना बनाइरहेको कोरोना संक्रमणले चिकित्सक र अदालतका कर्मचारीलाई पनि छाडेन ।

दुई दिनअघि मात्रै बाँके जिल्ला अदालतका पाँच जना र नेपालगन्ज–२० स्थित नेपाली सेनाको राँझा अस्पतालमा तीन जना संक्रमित भए । समुदायस्तरमै फैलिएको कोरोना संक्रमणले नेपालगन्ज उपमहानगरपालिकालाई पनि अछुतो हुन दिएन । आज सोमबार मात्रै नेपालगन्ज–१ वडाध्यक्ष प्रमोद रिजालसहित उपमहानगरका ६ जना कर्मचारी पनि संक्रमित भए ।

जसअनुसार उपमहानगरका दुई वडा सचिव, चार अधिकृत र एक जना कम्प्युटर अपरेटरमा पनि संक्रमण देखिएको छ । वडाध्यक्षसहित कर्मचारीमा संक्रमण देखिएपछि उपमहानगरपालिका पूर्णरुपमा बन्द गरिएको छ । भेरी अस्पतालस्थित कोरोना भाइरस जाँच प्रयोगशालाको रिपोर्ट अनुसार नेपालगन्ज उपमहानगरपालिकामा कोरोना संक्रमितको संख्या अझैं बढ्ने देखिन्छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काद्वारा जारी सूचनामा उपमहानगरपालिका अर्को सूचना नहुदाँसम्म सिल गरिएको उल्लेख छ । कोरोना संक्रमणका कारण जनप्रतिनिधि र कर्मचारी संक्रमित भएर उपचारमा रहेकाले विरामी निको भई उपमहानगरपालिकामा कोरोनाको सन्त्रास नहट्दासम्म कार्यालय बन्द रहने उल्लेख छ ।

पछिल्लो समय सरकारी कार्यालय र नागरिकको स्वास्थ्य परीक्षणमा तीव्रता दिएसँगै बाँकेमा संक्रमितको संख्या बढ्दो छ । तर, उचित र मापदण्डअनुसारका आइसोलेसन र क्वारेन्टिन पर्याप्त नहुँदा संक्रमण देखिएका र बाहिरबाट आएका ब्यक्तिलाई सुरक्षितरुपमा ब्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।

यसअघि बनाइएका क्वारेन्टिन र आइसोलेसनहरु सम्बन्धित पालिकाले हटाइसकेको छ । अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहहरुले पुनः क्वारेन्टिन निर्माण गर्ने काम शुरु गरेका छन् । बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेको छ ।

फोकल पर्सन श्रेष्ठले भने, ‘आइसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामी कहाँ कसरी ब्यवस्थापन गर्ने अहिले समस्या देखिएको छ । नेपालगन्ज उपमहानगरपालिका–१ का वडाध्यक्षलाई कोरोना भाइरस संक्रमण देखिएपछि सोमबार विहान १० बजेसम्म उनलाई कहाँ राख्ने भन्ने विषयमा समस्या देखिएको थियो,’ फोकल पर्सन श्रेष्ठले भने ।

जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको छलफल र आइसोलेसन कक्ष व्यवस्थापनपछि वडाध्यक्ष रिजाललाई खजुरा लगिएको उनले बताए । तर, आइसोलेसनको अभावमा नेपालगन्ज आन्तरिक राजश्व कार्यालयमा भेटिएका कर्मचारीलाई भने सोही कार्यालयमै आइसोलेसन कक्ष तयार गरेर राखिएको राखिएको छ ।

यसले बाँकेमा कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसन र क्वारेन्टिन अभाव हुँदै गएको प्रष्ट छ । जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा बाँकेमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी संयन्त्र पनि संक्रमणको उच्च जोखिममा देखिएको छ ।

सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि बाँके जिल्ला कोरोना संक्रमणको जोखिम उच्च छ । सरकारी कार्यालयमा संक्रमण देखिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् । बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था भयानक दुखदायी हुनसक्ने चेतावनीसमेत दिँदै आएका छन् ।

कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ । जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएको छ । पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले आग्रह गरिरहेका छन् ।

प्रकाशित मिति : १९ श्रावण २०७७, सोमबार १९:४९