सूचनाको शक्ति - The Power Of Information

        

शिक्षामा बेतिथि

ऐन विपरित सल्लाहकार नियुक्तिपछि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति विवादमा

सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंहले ऐन विपरित आफ्नो सल्लाहकार नियुक्त गरेका छन् । उपकुलपति सिंहले मध्यपश्चिमाञ्चल विश्वविद्यालयको कार्यकारी परिषदको बैठकबाट ऐन विपरित हरि चन्दलाई आफ्नो सल्लाहकार नियुक्ति गरेपछि असन्तुष्टि देखिएको छ ।

चन्दलाई विश्वविद्यालयको कार्यकारी परिषद बैठकको निर्णयबाट प्रथम श्रेणी सरहको सुविधा पाउने गरी सल्लाहकारमा नियुक्त गरेको भन्दै विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थी नेताहरूले असन्तुष्टि जनाएका छन् । उनको कार्यशैलीलाई लिएर प्राध्यापक र विद्यार्थी नेताहरु आक्रोशित समेत रहेको एक जना विद्यार्थी नेता बताउँछन् ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय ऐन, २०६७ दफा ३९ बमोजिम विश्वविद्यालयलाई आर्थिक भार पर्ने गरी पदाधिकारी, शिक्षक तथा कर्मचारी नियुक्ति गर्दा अर्थमन्त्रालयको स्वीकृत लिनुपर्ने स्पष्ट व्यवस्था छ । तर विश्वविद्यालयको कार्यकारी परिषदले नियम विपरित नियुक्ति गरेका छन् । पिएचडीका विद्यार्थी हरि चन्दलाई उपकुलपतिजस्तो प्राज्ञिक संस्थाको सल्लाहकार नियुक्ति हास्यास्पद रहेको एक प्राध्यापकले बताएका छन् ।

‘उपकुलपति आफैं यस क्षेत्रको बौद्धिक ब्यक्ति भएको दावी गर्नुहुन्छ, तर उहाँलाई किन सल्लाहकार चाहियो ? उपकुलपतिले सल्लाहकार आवश्यकता परेको औचित्य पुष्टि गर्नुपर्छ,’ एक जना प्राध्यापकले भनेका छन् । यसअघि विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा पदमलाल देवकोटाले तीन जनालाई सल्लाहकारका नाममा नियुक्त गरेका थिए । विश्वविद्यालयको ऐन विपरित भएका नियुक्ति अख्तियारमा उजुरी परेपछि खारेज भएका थिए ।

उपकुलपति सिंह ‘हनिमुन पिरियड’मै विवादमा तानिएका छन् । आफ्नो जात र राजनैतिक विचारभन्दा माथि उठ्ने प्रतिवद्धता जनाएका थिए । तर, आफ्नै भतिजालाई प्रमुख स्वकीय सचिव नियुक्ति गरेका उपकुलपतिले अहिले पुनः कुनै विषयमा विज्ञता हासिल नगरेका व्यक्तिलाई सल्लाहकार नियुक्ति गरेपछि थप विवादमा तानिएका छन् । उनीसँग भेटघाट गर्न जाने प्राध्यापक तथा विद्यार्थी नेताहरुलाई हप्काएर पठाउने गरेको पनि स्रोतले बतायो ।

स्रोतका अनुसार उनले आफूसँग गुण्डाहरु समेत भएको भन्दै धम्क्याने पनि गरेका छन् । निवर्तमान उपकुलपति उपेन्द्र कोइरालालाई भ्रष्टाचारी भन्दै तथानाम बोल्ने गरेको पनि एक जना प्राध्यापकले नाम नबताउने सर्तमा भनेका छन् । विश्वविद्यालयमा रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लको चार वर्षे कार्यकाल सकिएपछि नयाँ रजिस्ट्रार नियुक्ति प्रक्रिया सुरुआत भएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार २२:४५