बाँके । बाँकेको नरैनापुर गाउँपालिकाको विभिन्न वडामा भएको विकास निर्माण कार्यमा सिक्टा सिंचाइ आयोजनामा उत्खनन् भएको माटो प्रयोग गरि भरपाई तयार गरि रकम कुम्लाइएको खुलेको छ । गाउँपालिकाभित्र निर्माण भएका सडकमा सिक्टा सिंचाइ आयोजनाले उत्खनन् गरेको निशुल्क माटो प्रयोग गरिएको छ, बिलमा भने सशुल्क देखाइएको छ ।
गाउँपालिका अध्यक्ष ईस्तियाक अहमद शाह, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, योजना अधिकृत विजयकुमार यादव लगायतको संलग्नतामा वडा नं. ६ मा ३ वटा, वडा नं. ५ मा १, वडा नं. ४ मा २ वटा बाटो निर्माण कार्यमा उक्त आयोजनाको माटो प्रयोग गरि बिल भरपाई पेश गरिएको खुलेको हो ।
एक करोड ५० लाख रुपैयाँ लागतमा भएका ती विकास निर्माणको कार्यमा माटो फिलिङ्गको कार्यमा नहरमा उत्खनन् भएको माटो निःशुल्क प्रयोग गरिएको गाउँपालिका श्रोतले जनाएको छ । ‘माटो खनेर हाल्ने कार्यमा नहरको माटो प्रयोग गरेर आधाजति रकम बचेको हो,’ गाउँपालिकाका एक कर्मचारीले भने, ‘विल बनाउने क्रममा डोजरबाट कार्य भएको भनी पेश गरिएको छ ।’
गाउँपालिकाका करार सेवामा नियुक्त इन्जिीनियर प्रवीन श्रेष्ठलाई विल मिलाउने जिम्मा थियो,’ श्रोतले भन्यो, ‘मुख्य इन्जिनियर हुँदा पनि पुनः श्रेष्ठलाई नै जिम्मेवारी दिइएको छ ।’ यस सन्दर्भमा गाउँपालिकाका प्रशासन प्रमुख विजय यादवसँगको सम्पर्क प्रयास सफल हुन सकेन । गाउँपालिकाको क्वारेन्टाइन भत्ता विवाद, नेपालगन्जमा कार्यालय सञ्चालनपछि विकास निर्माण कार्यमा विवाद देखिएको हो ।
सत्यपाटी ।