सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

सरकारी कार्यालय बने कोरोना संक्रमणको ‘निसाना’

बाँके । नेपालगन्जस्थित सरकारी कार्यालयलाई निसाना बनाइरहेको कोरोना संक्रमण चिकित्सक र अदालतका कर्मचारीमा पनि देखिएको छ । भेरी अस्पताल नेपालगन्जका अनुसार, जिल्ला अदालत बाँके र नेपालगन्ज–२० राँझास्थित नेपाली सेनाको अस्पतालबाट संकलन गरिएको स्वाबको नमूना परिक्षणमा एक चिकित्सकसहित आठ जनामा कोरोना संक्रमण देखिएको छ ।

भेरी अस्पतालका अनुसार जिल्ला अदालत बाँकेबाट नमूना संकलन गरिएका नेपालगन्ज–६, ७ र १८ का ४०, ५५ र ४६ बर्षिय तीन जना पुरुष, खजुरा गाउँपालिका–५ का २२ बर्षिय पुरुष र भेरीगंगा नगरपालिका–३ सुर्खेतका उमेर नखुलेका एक पुरुष रहेका छन् भने राँझास्थित नेपाली सेनाको अस्पतालबाट संकलन गरिएको स्वाबको नमूना परिक्षणमा नेपालगन्ज–२० का ३३ र ३४ बर्षिय दुई जना पुरुष र गुलरिया–५ बर्दियाका २३ बर्षिय एक जना पुरुष रहेका छन् ।

अस्पतालका अनुसार, आर्मी फिए दाङबाट संकलन गरिएको स्वाबमध्ये बोलानगर गाउँपालिका सिन्धुलीका एक जना ३५ बर्षिय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । खजुरा गाउँपालिका–६ बाँकेका ३७ बर्षिय पुरुष पनि कोरोना संक्रमित भएका छन् । टिकापुर नगरपालिका–१, कैलालीका ३२ बर्षिय एक जना चिकित्सक र अर्का एक जना गरी दुई जनामा पनि कोरोना पुष्टि भएको छ ।

यसअघि पनि आन्तरिक राजश्व कार्यालय र यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिसकेको छ । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ जना र यातायात व्यवस्था कार्यालयको सवारी शाखामा कार्यरत एक जना महिला कर्मचारीमा कोरोना संक्रमण देखिए देखिएको छ । सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि बाँके जिल्ला कोरोना संक्रमणको जोखिम उच्च छ ।

सरकारी कार्यालयमा संक्रमण देखिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् । बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था पनि भयानक दुखदायी हुनसक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरिरहेका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।

जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि बाँके प्रशासनले आइतबारदेखि तीन दिनका लागि गरेको निषेधाज्ञासमेत जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले संक्रमित देखिएका स्थनलाई सिल गर्नेबारे छलफल गरिरहेको जनाइएको छ । पछिल्लो समयमा बाँकेमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको भन्दै सतर्क रहन चिकित्सकहरुले सुझाएका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार १७:२६