बाग्लुङ । द क्लिफ प्रालिले विश्वकै अग्लो र लामो स्काइ साइकलिङ बनाएको छ । स्टिल कोर केबलमा गरिने साइकलिङ तयार भएको हो । बाग्लुङको बलेवा र पर्वतको कुश्माबीच कालीगण्डकी खोचमा निर्माण गरिएको स्काइ साइकलिङको उचाई २२८ मिटर रहेको छ भने लम्बाई ३०० मिटर रहेको छ ।
एक पटकमा दुई जनाले साइकलिङ गर्न मिल्ने गरी तयारी गरिएको छ । द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीका अनुसार अन्तर्राष्ट्रिय मापदण्ड अनुसार स्काइ साइकलिङ तयार गरिएको छ । त्यसको सञ्चालनमा सुरक्षा सावधानी र उच्च सतर्कता अपनाइने कार्कीले जानकारी दिए । साइकलिङका लागि आवश्यक साइकल र अन्य सुरक्षा उपकरण कम्पनीले नै उपलब्ध गराउने छ ।
साइकल र यात्री दुवैलाई सुरक्षा डोरीले अड्काइएको हुन्छ । लिकमा रेल गुडेझैं फिक्स ह्याण्डल भएको साइकललाई रोपमा कुदाइन्छ । विश्वकै दोश्रो अग्लो बन्जी, विश्वकै अग्लो स्विङ, गुलेली शैलीको नेपालकै नमुना पिङसमेत निर्माण गरेको कम्पनीले सो क्षेत्रलाई एड्भेन्चर हवका रुपमा स्थापित गर्ने योजना बनाएको छ ।
सत्यपाटी ।