सूचनाको शक्ति - The Power Of Information

        

ट्राफिक व्यवस्थापन

नेपालगन्जमा ‘ह्वील लक’ अभियान, ‘ठूलाबडाबाटै ट्राफिक नियम उल्लंघन’

बाँके । नेपालगन्जको सुर्खेत रोड चार लेनको भयो । सडकको बीच भाग र किनारमा डिभाइडर राखिए । चोकचोकमा जेब्रा कसिङ्ग बनाइयो । डिभाइडर राखियो । साँघुरा गल्ली र सवारी साधनको बढ्दो चापले अस्तब्यस्त नेपालगन्जको सडक फराकिलो हुँदा निकै राहत महसुस गरियो । ट्राफिक व्यवस्थापन नौलो बन्यो ।

तर सवारी चालकले जहाँ पायो त्यही गाडी रोक्न छाडेन् । पैदल यात्रुले डिभाइडर नाघेर बाटो काट्न छोडेनन् । ट्राफिक व्यवस्थापनको आवश्यकता र महत्वबारे स्थानीयलाई बुझाउन सकिएन या बुझ्न चाहेनन् । राम्रा कामका लागि सुरु गरिएको अवधारणा न त सवारी चालकले मान्न तयार भए न त पैदल यात्रुले नै बुझेका छन् ।

यात्रीको सुविधा र सुरक्षाका लागि राखिएका डिभाइडरमाथि जनचेतनाको अभावमा स्थानीयले निर्माण सामग्री राख्न, ठेला अडाउने र सवारी पार्किङ गरेर दुरुपयोग गर्दा आवतजावतमा समस्या हुनथाल्योे । गत १५ माघदेखि नेपालगन्ज उपमहानगरपालिका सुर्खेत रोडको छेउका डिभाइडरलाई हटाउन बाध्य भयो ।

डिभाइडर हटेपछि ट्राफिक व्यवस्थापनको समस्या जस्ताको तस्तै रह्यो । सवारी साधन जहाँ पायो त्यही पार्किङ्ग हुन थाले । अस्तव्यवस्त पार्किङ्ग हुन थालेपछि सवारी दुर्घटनाका साथै पैदल यात्रुलाई हिँड्डुल गर्न सकस हुन थाल्यो । अस्तव्यवस्त पार्किङ्ग रोक्न ट्राफिक प्रहरीले नेपालगन्जमा पार्किङ्ग गरिएकै स्थानमा ह्वील लक (चक्का जाम) गर्न थालेको छ ।

सवारी साधन जहाँ पायो त्यही पार्किङ्ग हुन थालेपछि पार्किङ्ग गरिएकै स्थानमा ह्वील लक गरेर जरिवाना गर्न थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरिक्षक पविन्द्र बमले बताए । उनले भने, ‘पहिलो चरणमा नेपालगन्जबाट ह्वील लक गर्न सुरुवात गरेका छौं । प्रभावकारिताका आधारमा जिल्लाभर सुरु गर्नेछौं ।’

यही साउन १४ गतेबाट ‘ह्वील लक’ अभियान सुरु गरिएको थियो । अभियान अन्तरगत १४ गतेदेखि १७ गतेसम्म तीन दिनको अवधिमा ३७ वटा सवारी साधनको ‘ह्वील लक’ भएको छ । जसमा सबैभन्दा धेरै कार २४ वटा कारबाहीमा परेका छन् भने १० वटा मोटरसाइकल, ४ ट्रक, ३ टेम्पो, २ बस र १ वटा अटोरिक्सालाई ‘ह्वील लक’ गरेर कारबाही गरिएको छ ।

‘ह्वील लक’ अभियानको चार दिनमा कारबाहीमा परेका ३७ वटा सवारी साधनबाट ३६ हजार रुपैयाँ राजश्व संकलन भएको छ । चार दिनको ‘ह्वील लक’ कारबाहीको तथ्यांक अनुसार चार दिनमा २४ वटा निजी कार कारबाहीमा पर्नुले ठूलाबडाबाटै ट्राफिक नियम उल्लंघन धेरै हुने गरेको देखिएको छ ।

जनचेतनाका लागि हेर्नुस् भिडियो :

ट्राफिक नियम पालना गर्न रुचाउने नेपालगन्जका एक मोटरसाइकल चालक राजु शाहीले भने, ‘धनीहरु कारमा हिँड्दा जे गर्दा पनि हुन्छ भन्ने सोच्दछन् । सामान्य व्यक्ति मोटरसाइकलमा हिँड्दा कारबाही हुन्थ्यो । कार चलाउनेहरुले जथाभावी पार्किङ्ग गर्दा पनि कारबाही नहुने अवस्था थियो । ‘ह्वील लक’ अभियानले उनीहरुलाई पनि कानुनी दायरामा ल्याउँदा खुशी लागेको छ ।’

सामान्य व्यक्तिलाई गर्न नदिने ठाउँमा पार्किङ्ग गर्ने ठूलाबडाहरुलाई ट्राफिक प्रहरीको ‘ह्वील लक’ अभियानले राम्रो ‘सबक’ सिकाएको शाहीले बताए । उनले भने, ‘नेपालगन्जमा यो जरुरी थियो, पहिले नै सुरु हुनु पर्दथ्यो, ढिलै भए पनि यसको सुरुवात भएको छ । यसको निरन्तरता अबको मुख्य चुनौति हो, निरन्तरताको लागि ट्राफिक प्रहरीले ध्यान दिनुपर्छ ।’

सवारी चलाउँदा सवारी धनीले ट्राफिक नियममा ध्यान दिनुपर्ने बताउँछन्, ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी नायव निरिक्षक भरतप्रसाद पौडेल । उनले भने, ‘नियम कानुन भनेको सबैलाइ लाग्नु पर्छ । सानालाई सास्ती र ठूलाबडालाई छुट भन्ने हुँदैन । सबैका लागि ट्राफिक नियम बराबरी हो । गल्ती गर्ने जो कोही भए पनि छुट हुँदैन ।’

ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका इन्चार्ज प्रहरी नायव निरिक्षक भरतप्रसाद पौडेल । नेपालगन्जमा उनकै नेतृत्वमा ‘ह्वील लक’ अभियानलाई प्रभावकारी बनाउन ट्राफिक प्रहरी कडाईका साथ लागिपरेको छ ।

नीति नियम नमान्ने र सडकको प्रयोग जथाभावी ढंगले गर्ने ठूलाबडालाई ट्राफिक प्रहरीले सुरु गरेको ‘ह्वील लक’ अभियानले ठाउँको ठाउँ कारबाही गर्ने प्रहरी नायव निरिक्षण पौडेलले बताए । कानुन कार्यान्वयन गर्दा ट्राफिकले सबैलाई समान व्यवहार गर्ने बताउँदै उनले ‘ट्राफिक प्रहरीको ‘ह्वील लक’ अभियानले ट्राफिक व्यवस्थापनमा सहयोग पुगेको जानकारी दिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमूख प्रहरी निरिक्षक बमले ट्राफिक व्यवस्थापनको समस्या निम्त्याउने सवारी साधनप्रति आमनागरिकमा नकारात्मक धारणा अभिवृद्धि भएको देखिएपछि नेपालगन्जमा ‘ह्वील लक’ अभियान सुरु गरेको बताए । उनले भने, ‘ट्राफिक नियम पालना नगर्ने जो कोहीलाई कारबाही हुन्छ । सानो ठूलो भन्ने नै हुँदैन ।’

यो अभियानले जिल्लामा सवारी दुर्घटनामा समेत कमी ल्याउने प्रहरी निरिक्षक बमको विश्वास छ । नेपालगन्जको ट्राफिक ब्यवस्थापन पहिलेको तुलनामा सन्तोषजनक रहेको उनको भनाई छ । ट्राफिक नियमबारे सुरुमा जानकारी नहुँदा समस्या देखिए पनि समस्या कम हँुदै गएको प्रहरी निरिक्षक बमले बताए ।

उनले भने, ‘पहिलोको तुलनामा ट्राफिक व्यवस्थापनमा सुधार भएको छ । सडकमा जथाभावी पार्किकको समस्या भएपछि सुरु गरिएको ‘ह्वील लक’ अभियानले ट्राफिक व्यवस्थापनमा थप सहयोग पुग्नेछ । ठाउँठाउँमा जथाभावी पार्किङ्ग गर्न रोकिनेछ । अस्तव्यस्त पार्किङ्गलाई यो अभियानले थप व्यवस्थित बनाउनेछ ।’

ट्राफिक पोष्ट नेपालगन्जका प्रमुख प्रहरी नायव निरिक्षक पौडेलका अनुसार नेपालगन्जको खजुरा रोड, बिपी चोक, धम्बोझी चोक, भेरी अस्पताल चोकमा अव्यवस्थित पार्किङ्ग धेरै हुने गरेको छ । उनले ती क्षेत्रमा कारबाहीमा पर्ने सवारी साधन पनि धेरै रहेको बताउँदै ‘ह्वील लक’ अभियान कडाईका साथ लागु भइरहेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार १२:२१