सूचनाको शक्ति - The Power Of Information

        

गाउँपालिका अध्यक्ष कठायतद्वारा वृद्धमाथि दुर्व्यवहार

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत ।

गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायत ।

बझाङ । आफ्नो पदिय मर्यादा विपरीत काम गरेर विभिन्न घटनामा मुछिँदै आएका बझाङको मष्टा गाउँपालिकाका अध्यक्षले एक जना वृद्धमाथि दुर्व्यवहार गरेको घटना सार्वजनीक भएको छ । गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले केही दिनअघि मदिरा सेवन गरी सोही गाउँपालिका–२ का ७५ बर्षिया पिरु रोकायामाथि सार्वजनीक रुपमै दुर्व्यवहार गरेका छन् ।

गाउँपालिकाका अध्यक्ष कठायतले वृद्ध रोकायाको बाडेगाँउमा रहेको देउपाटो भन्ने स्थानमा खेलकुद मैदान बनाउन खोजेको र वृद्ध रोकायाले आफ्नो नाममा दर्ता रहेको भोगचलन गर्दै आएको जमिनमा आफुलाई जानकारी नदिई गाउँपालिकाले खेलमैदान बनाउन खोजेको भन्दै असहमति जनाएका थिए ।

वृद्धको असहमति भएपछि गाउँपालिकाका अध्यक्ष कठायतले मदिरा सेवन गरी रोकायालाई तथानाम गालीगलौज गर्दै हातपात गर्न खोजेका थिए । ‘गाउँको बीचमा रहेको गोलघरमा केही स्थानीयहरु बसेका थियौं,’ घटनाका प्रत्यक्षदर्शी कलक रोकायाले भने, ‘अध्यक्ष आएपछि एक्कासी वृद्धलाई गालीगलौज र दुर्व्यवहार गरेको देख्दा हामीलाई दुख लाग्यो ।’

वृद्ध पिरु रोकायाका छोरा हरिचन्द्रले गाउँपालिकाका अध्यक्षले बुबाप्रति गरेको दुर्व्यवहार गरेको भन्दैसम्बन्धित निकायले यसको छानविन गर्नुपर्ने बताए । उनले भने, ‘सार्वजनिक प्रयोगका लागि जग्गा आवश्यक भए बुबा र आफुहरुसँग सल्लाह गरेको भए हुन्थ्यो, जग्गा पनि निशुल्क उपलब्ध गराउन सकिन्थ्यो । तर अध्यक्षको यस्तो व्यवहारले हामी सबैलाई चोट लागेको छ ।’

यसअघि पनि अध्यक्षको कार्यशैली र व्यवहारले एकपटक स्थानीयहरुले कालोमसो लगाएका थिए । ‘स्थानीयहरुसँग पटकपटक अध्यक्षको विवाद हुने गरेको छ । यता गाउँपालिका अध्यक्ष कर्ण कठायतले भने, ‘पिरु रोकायाले गाउँमा रहेको सार्वजनिक जग्गा धेरै बर्षअघि आफ्नो नाममा दर्ता गराएको र हाल उक्त जग्गालाइ खेल मैदान बनाउने भनेपछि सामान्य विवाद भएको स्वीकार गरेका छन् ।

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार ०९:५४