सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बाँकेमा किन लगाइयो निषेधाज्ञा ?

बाँके । कोरोना भाइरस (कोभिड–१९) संक्रमित बढेसँगै बाँकेमा पुनः निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले शनिबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । यसअघि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले तीन दिनसम्म पुनः निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

लगातार कोरोना संक्रमित थपिएपछि बाँके जिल्लाभर पूर्णरूपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । जिल्लामा कोरोना संक्रमण थप फैलन नदिन तथा यसको रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन निषेधाज्ञा जारी गर्ने निर्णय भएको कुरुम्बाङको भनाइ छ ।

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्तिलाई घरबाहिर आवतजावत नगर्न भन्दै प्रशासनले सूचना जारी गरेको छ । स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द हुनेछन् ।

बैंक र वित्तिय संस्थाहरुको हकमा भने एटिएम बाहेक अन्य सबै सेवा बन्द गरिएको उनले बताए । ‘स्थिति जटिलतर्फ बढ्दै गएको छ,’ प्रजिअ कुरुम्वाङले भने, ‘अवस्था हेरेर निषेधाज्ञा थप लम्विन पनि सक्छ ।’ कोरोना नियन्त्रण भइसकेको बाँकेमा लकडाउन खुलेपछि भने पुनः संक्रमण फैलिदै गएको छ ।

पछिल्लो पटक सङ्क्रमण देखिएका ३० जनाको सम्पर्कमा आएका ४२३ व्यक्तिको कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । कन्टयाक्ट ट्रेसिङ गर्दै समुदायमा कोरोना सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासन लागिपरेको छ ।

नेपालगन्जस्थित आन्तरिक राजश्व कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारी र व्यस्त रहने त्रिभुवन चोकको एक मिठाई पसल सञ्चालकमा कोरोना सङ्क्रमण देखिएपछि उच्च सतर्कता अपनाइएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित बढेको भन्दै प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेलाई पहिलो पटक बैशाख २२ देखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो । बाँकेमा हालसम्म ४३७ जनामा भाइरस संक्रमण पुष्टि भइसकेको छ । तिमध्ये ३८७ जना उपचारपछि घर फर्किएका छन् भने दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

तस्वीरहरु : कमल न्यौपाने

प्रकाशित मिति : १८ श्रावण २०७७, आइतवार ०९:१६