काठमाडौं । सरकारले अघि सारेको पाशुपत क्षेत्रको गुरुयोजनाप्रति स्थानीय नागरिक र राजनीतिक दलहरुले विरोध जनाएका छन् । वैदिक कालदेखि चलिआएको पशुपतिनाथको धर्म संस्कृति र मौलिकता नष्ट गर्ने गुरुयोजना ल्याएको भन्दै विरोध भन्दै स्थानीय नागरिक र राजनीतिक दलहरुले विरोध जनाएका हुन् । गुरुयोजनामा पशुपति क्षेत्र वरिपरिको वस्तीलाई व्यवस्थित बनाउने नाममा वरिपरिको बस्ती नै हटाउन खोजिएको आरोप संघर्ष समितिले लगाएको छ ।
गुरु योजनमा मन्दिरलाई दुई तहमा राख्ने, पश्चिमी गेट नभत्काइ पश्चिमी गेटअघि अर्को तह राख्ने, दर्शन गर्न आउने तीर्थ यात्रुहरुको लागि दर्शन पथलाई स्तरोन्नती गर्ने लगायतका प्रस्ताव रहेका छन् । तर स्थानीबासीहरुले भने मन्दिरलाई दुई तहमा राख्ने नाममा पश्चिमी गेटलाई भत्काउन खोजिएको आरोप लगाएका छन् । विरोध कार्यक्रमबारे जानकारी दिँदै नेविसंघका महामन्त्री मनोज वैद्यले धर्म संस्कृति र परम्परालाई अन्त्य गर्ने नियतले यो गुरुयोजना ल्याइएको बताए ।
उनले यहाँ अवस्थित बस्ती र यहाँको संस्कृति एकअर्काको पर्याय भएको भन्दै बस्ती उठाउँदा यहाँको संस्कृति नै लोप हुने हुँदा गर्दा कुनै पनि हालतमा गुरुयोजना लागु हुने नदिने बताए । उनले स्थानीय नागरिकहरुको विरोधपछि सम्बन्धित मन्त्रालयका मन्त्रीले छलफलका लागि बोलाएकाले त्यसबाट आगामी कार्यक्रम गरिने बताए । पशुपतिनाथको प्राङ्गणबाट सुरु भएको बिरोध जुलुस एयरपोर्ट, गौशाला, सिफल, चाबहिल हुँदै पुनः पशुपतिमै आएर समापन भएको थियो ।
सत्यपाटी ।