सूचनाको शक्ति - The Power Of Information

        

अपराध

४६ प्रतिशतले बढ्यो लागुऔषध कारोबार

बाँके । बाँकेमा लागुऔषधको मुद्दामा हरेक बर्ष वृद्धि भएरहेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको त्रिबर्षीय तथ्यांक अनुसार लागुऔषधसम्बन्धी मुद्दाको संख्या ह्वात्तै बढ्दै गएको छ । प्रहरीका अनुसार तीन बर्षको अवधीमा ५३५ वटा मुद्दा दर्ता भएका छन् ।

प्रहरीका अनुसार, आर्थिक बर्ष २०७४/०७५ मा लागुऔषधका १३९ वटा मुद्दा दर्ता भएकोमा त्यसो संख्या आव. २०७५/०७६ मा बढेर १४७ पुगेको थियो । आव.२०७६/०७७ मा लागुऔषध सम्बन्धी मुद्दाको संख्या ४६ प्रतिशतले बढेर २४९ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेको मुद्दा शाखाले जानकारी दिएको छ ।

प्रहरीले बाँकेमा लागुऔषधको समस्या बढ्दै गएपछि कारवाहीसँगै जनचेतनामूलक कार्यक्रमहरु समेत गर्दै आएको छ । लकडाउन खुकुलो भएसँगै जिल्लामा लागुऔषध कारोबारी पुनः सक्रिय हुन थालेका छन् । प्रहरीले लागुऔषधविरुद्ध कारवाही गरी एक महिनामा ९ जना माथि मुद्दा लगाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार, असार ५ देखि साउन ११ गतेसम्म ७ जनालाई लागुऔषधसहित नियन्त्रणमा लिई मुद्दा लगाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका मुद्दा फाँट इन्चार्ज प्रहरी निरिक्षक हृदेश सापकोटाले जानकारी दिए । प्रहरीले असार ५ देखि साउन ११ गतेसम्म २४ ग्राम ७८० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ ।

त्यस्तै, ७६ सिसी कोरेक्स, ४ किलो १७४ ग्राम अफिम पनि प्रहरीले बरामद गर्न सफल भएको छ । प्रहरीले एक महिनाको अवधीमा ४४ जनालाई लागुऔषध सेवन गरेको भन्दै पक्राउ गरेको छ । रातीको समयमा गाँजा र मापसे गरी होहल्ला गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार १२:३४