सूचनाको शक्ति - The Power Of Information

        

संस्कृति

आज इस्लाम धर्मावलम्बीको बकर–इद, सामाजिक दुरी कायम गरेर नमाज पढिँदै

नेपालगन्जको विपीचौकस्थित मस्जिदमा नमाज पढ्न पुगेका संघीय सांसद एवं पूर्व शहरी विकास मन्त्री मो.इस्तियाक राई लगायत मुस्लिम समुदायका अगुवाहरु ।

नेपालगन्जको विपीचौकस्थित मस्जिदमा नमाज पढ्न पुगेका संघीय सांसद एवं पूर्व शहरी विकास मन्त्री मो.इस्तियाक राई लगायत मुस्लिम समुदायका अगुवाहरु ।

बाँके । इस्लाम धर्मावलम्बीले बकर–इद (इदु उल अजहा) आज मनाउँदै छन् । बकर–इद पर्व रमजान अर्थात् इदुलफित्रपछिको दोस्रो ठूलो चाड हो । रमजान पर्वको ७० औँ दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन् । तीन दिनसम्म मनाइने यो पर्वलाई ‘इद–उल–जुहा’ पनि भनिन्छ ।

बलिदानीको पर्वका रुपमा लिइने बकर इद मुस्लिम महिना जुल हिज्जाको दशौँ दिन मनाउने गरिन्छ । हिजरी संवत् अनुसार १४३५ वर्षपहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको राष्ट्रिय मुस्लिम आयोगका पूर्वअध्यक्ष निर्दोष अलीले जानकारी दिए ।

आजको दिन मस्जिदमा जम्मा भई विशेष नमाज पढ्ने गरिन्छ । बिहानैदेखि नेपालगन्ज लगायत देशभरका मस्जिदमा सामाजिक दुरी कायम गरेर नमाज पढिएको छ । नमाज पढिसकेपछि घरमा गई बली दिने र एकापसमा शुभकामना आदानप्रदान गर्ने प्रचलन छ । इस्लाम धर्मावलम्बीले विभिन्न जनावरको बली दिने र त्यसलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरीब एवं दीन दुःखीलाई बाँड्ने मुस्लिम धार्मिक विधान छ ।

यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । धार्मिक मान्यता अनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त)मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु । सोही अनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छ भन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएन । अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए ।

यस घडीमा उनको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो । कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ । एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ । शनिबार पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारीमा जुटेका छन् ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार ०८:२४