बाँके । बाँकेमा सरकारी कार्यालयहरुका कर्मचारीहरुमा एकपछि अर्को गर्दै कोरोना संक्रमण हुन थालेको छ । आजमात्रै जिल्ला अदालत बाँकेमा कार्यरत एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । कर्मचारीमा कोरोना देखिएपछि अदालतले सूचना जारी गर्दै अदालतले हुँदै आएका सेवाहरुसमेत बन्द गरेको छ ।
कर्मचारीमा कोरोना देखिएपछि जिल्ला तथा उच्च अदालतले आज शुक्रबारदेखि अन्तिम म्याद भएका थुनछेक, म्याद थप, कलडिटेल, अतिजरूरी पक्राउ पूर्जीबाहेक अन्य सबै सेवा बन्द गर्ने निर्णय गरेको अदालतको सूचनामा उल्लेख छ । यसअघि आन्तरिक राजस्व कार्यालय नेपालगन्ज र यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिसकेको छ ।
जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि बाँके प्रशासनले आइतबारदेखि तीन दिनका लागि गरेको निषेधाज्ञासमेत जारी गरिसकिएको छ । निषेषाज्ञा अवधिभर अदालत बन्द रहने हुँदा १६ गते गरि आएको कामलाई मात्र निरन्तरता दिने सहमति भएको सो सूचनामा बताइएको छ ।
यस्तै जिल्ला अदालतको आकस्मिक बैठकले साउन २० गतेसम्म अदालत परिवारको रिपोर्ट नआएमा वा निषेधाज्ञा लम्बिएमा पुनः सोही बमोजिम गर्ने र सामान्य अवस्था भएमा २० गते पुनः बैठक बसी सेवा सञ्चालन सम्बन्धमा निर्णय गर्ने सहमती गरेको जिल्ला अदालत बाँकेले जारी गरेको सूचनामा उल्लेख छ ।
लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिमयुक्त देखिएको छ । बाँकेमा संक्रमित बढेसँगै जोखिम देखिएपछि जिल्ला प्रशासन कार्यालयले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकको निर्णयअनुसार आइतबारदेखि तीन दिन निषेधाज्ञा जारी गर्ने भएको छ ।
बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै पूर्णरुपमा निषेधाज्ञा जारी गरिएकोले सो अवधिमा निषेधाज्ञा उल्लंघन गरे पक्राउ गरि कानुनबमोजिम कारबाही गरिने जनाइएको छ । बाँकेमा कोरोना संक्रमण फेरि भयावह रुप लिने देखिएपछि पूर्णरुपमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।
सरकारले लकडाउन खोलेसँगै बाँके कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् । बाँकेमा समुदायस्तरमा कोरोना फैलिन थालेपछि यहाँका आमनागरिक त्रसित बनेका छन् । नेपालगन्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिइसकेको छ ।
बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था पनि भयानक दुखदायी हुनसक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरिरहेका छन् । लकडाउन खुलेपछि बाँके कोरोनासंक्रमणको उच्च जोखिममा देखिएपछि पूर्णरुपमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएपछि प्रशासनले जनाएको छ ।
सरकारले लकडाउन फिर्ता लिएसँगै यहाँका बजारहरुमा नागरिकको भीडभाड बढेको छ, सवारीसाधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ । त्यसैले पनि पुनः पूर्णरुपमा निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बाँके प्रशासनले जनाएको छ ।
यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ । सरकारले लकडाउन खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् ।
सत्यपाटी ।