सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

उच्च जोखिममा ‘रानीतलाउ सब्जीमण्डी’

बाँके । बाँकेको नेपालगन्जस्थित रानीतलाउ तरकारी बजार (सब्जीमण्डी) क्षेत्र कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ । तरकारी व्यवसाय सञ्चालन खरिद बिक्रिका निहँमा दैनिकजसो हुने भीडभाड र हेलचेक्र्याइँले उक्त क्षेत्र नेपालगन्जका अन्य क्षेत्रका तुलनामा बढी जोखिममा देखिएको छ ।

उक्त तरकारी बजारमा व्यापार गर्न भारतीय नागरिकहरू समेत आएको र असुरक्षित तरिकाले भैरहेको उपभोक्ताको भीडले जोखिम बढेको तरकारी व्यापारी बाबु कबाडिया बताउँछन् । सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि लकडाउन हटाएसँगै भारतीय नागरिक नेपाल प्रवेश गरेर रानीतलाउमा दोब्बर भाडा तिरेर पसल सञ्चालन गरिहेका छन् ।

उनकाअनुसार बाँके प्रशासन भने मौन बनेको छ । नगरमा सञ्चालित तरकारी बजारमा सयौँको संख्यामा तरकारी खरिद गर्नेको भिड हुने गरेको छ । शनिबारदेखि बिहीबारसम्म प्रत्येक दिनजसो संक्रमित नेपालगन्जमा भेटिएका छन् । तरकारी बजारलाई व्यवस्थित बनाउने तर्फ प्रशासनको ध्यान केन्द्रित हुन नसक्नु चिन्ताको विषय यहाँका व्यवसायी बताउँछन् ।

तरकारी बजारमा साबुन पानीले हात धुने व्यवस्था पनि छैन । स्यानिटाइजरको प्रयोग पनि भएको देखिँदैन । तरकारी बजारलाई व्यवस्थित बनाउन नसक्दा भिड उस्तै हुने गरेको छ । यसले पनि जोखिम उत्तिकै बढेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार १२:०६