बाँके । आन्तरिक राजश्व कार्यालय, नेपालगन्जका धेरै कर्मचारीमा कोरोना देखिएपछि कार्यालयलाई आइसोलेसन सेन्टरको रुपमा प्रयोग गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठले कोरोना देखिएका निजामति कर्मचारीलाई राख्नका लागि आन्तरिक राजश्व कार्यालयलाई आइसोलेसन सेन्टरका रुपमा विकास गरिएको बताए ।
उनका अनुसार, अहिले त्यहाँ १२ जनालाई राखिएको छ । आन्तरिक राजश्वका अधिकृतहरुसहित त्यही बस्ने १२ जनामा कोरोना देखिएको छ । कार्यालय बन्द रहेकाले त्यहाँका कर्मचारीहरुलाई त्यही राखिएको छ । जिल्ला अदालत र यातायात कार्यालयका कर्मचारीमा पनि कोरोना देखिएको छ । फोकलपर्सन श्रेष्ठले कोरोना देखिएका निजामति कर्मचारी सबैलाई आन्तरिक राजश्व कार्यालयको आइसोलेसन सेन्टरमा राखिने बताए ।
सेवाग्राहीको चाप हुने कार्यालय र चोक बजारका ३० जनामा कोरोना देखिएपछि यसअघि बन्द गरिएको आइसोलेसन सेन्टर पुनः सञ्चालन उनीहरुलाई राखिएको छ । लायन्स डेन्टल अस्पताल पुनः सञ्चालनमा ल्याइएको छ । आदर्शनगर र खजुराको आइसोलेसन सेन्टर सञ्चालनमै रहेका छन् । बाँकेमा आइसोलेसनमा बसेको संक्रमितको संख्या ५४ पुगेको छ । जिल्लामा ४३७ जनालाई कोरोना भएको छ । अहिले ११६ जना क्वारेन्टाइनमा छन् ।
।