सूचनाको शक्ति - The Power Of Information

        

भाटभटेनीलाई बीस हजार जरिवाना

बाँके । बाँकेको नेपालगन्जमा रहेको भाटभटेनी सुपर मार्केटलाई बीस हजार रुपैयाँ जरिवाना तिराइएको छ । सुपर मार्केटमा जम्मा भएको फोहोर निषेधित क्षेत्रमा फालेको भन्दै नेपालगन्ज उपमहानगरपालिकाले बीस हजार रुपैयाँ जरिवाना गरेको हो ।

नेपालगन्ज उपमहानगरपालिका १८ को कारकाँदोमा भाटभटेनी सुपर मार्केट रहेको छ । सुपर मार्केटले नेपालगन्ज–२० मा रहेको निषेधित क्षेत्रमा फोहोर फालेको भन्दै बीस हजार रुपैयाँ जरिवाना तिराइएको हो । सुपर मार्केटलाई वडा नं. २० कार्यालय पहिलो पटक जरिवाना तिराएको वडाध्यक्ष कृष्ण कार्कीले जानकारी दिए ।

उनले डुडुवा खोलामा बगाउन लगिएको अवस्थामा राँझा चोकमा दुई वटा रिक्सामा रहेको फोहोर नियन्त्रणमा समेत लिइएको जानकारी दिए । ‘यतिठूलो प्रतिष्ठित व्यवसायीक संस्थाले निषेधित क्षेत्रमा फोहोर फाल्नु लाजमर्दो कुरा हो,’ उनले भने, ‘पहिलो चरणमा हामीले जरिवाना तिराएका छौं । वडाभित्र फोहोर गर्ने जुनसुकै भए पनि कारवाही गरिन्छ ।’

रिक्साबाट नियन्त्रणमा लिइएको फोहोर ल्याण्डफिल साइडमा पठाएर रिक्सा छोडिएको वडाध्यक्ष कार्कीले बताए । नेपालगन्ज उपमहानगरपालिको ल्याण्डफिल साइडभन्दा बाहिर फोहोर फाल्न रोक लगाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १६:१७