सूचनाको शक्ति - The Power Of Information

        

विकासमा बेतिथि

महिनादिन नपुग्दै भत्कन थाल्यो एक करोडमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाँउपालिका–५ आलीमा रहेको रानी सामुदायिक वन रामीचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ । मापदण्ड पुरा नगरेर निर्माण गरिएको हाइटेक नर्सरी गुणस्तरहिन साम्रागीहरु प्रयोग गरिएकाले भत्कन सुरु भएको हो ।

सार्वजनिक खरिद नियमवाली विपरित सिम्ता हाइटेक नसर्री उपभोक्ता समितिमार्फत डिभिजन वन कार्यालय सुर्खेतले नियम कानुन मिचेर १ करोड ४ लाख ५३ हजार रुपैयाँमा निर्माण गरेको हो । नियमवालीले एक करोड भन्दामाथिको काम गर्दा उपभोक्तामार्फत निर्माण गरिनुलाई गैरकानुनी मानिन्छ ।

तर, यो हाइटेक नर्सरी निर्माण भने डिभिजन वन कार्यालयले नियम कानुन मिचेर उपभोक्ता समितिलाई दिएको छ । उधोग पर्यटन तथा वन मन्त्रालय कर्णाली प्रदेशले उच्च प्रविधियुक्त नर्सरी स्थापना र सञ्चालन कार्यविधि २०७५ का अनुसार वातावरण अनुकुल व्यवस्थापनको अतिरिक्त परावैजनिक किरणहरु अवरोधक पोलिथिन तापक्रम नियन्त्रण जाली, एग्रीनेट र ईसेन्ट नेटको अवरोध नगर्ने उल्लेख गरिएको छ ।

यस्तै सुक्ष्म सिचाई प्रणालीबाट पोषक तत्व व्यवस्थापन सहितको वन पैदावरजन्य बालीको गुणस्तर वेर्ना नर्सरी भन्ने गरिन्छ । नर्सरीबाट बहुउपयोगी विरुवाहरुको उत्पादन गरी बृक्षारोपन मार्फत वनक्षेत्रको विस्तार तथा वन पैदावरको उत्पादन बृद्धि गरि जनताको जिविकोपार्जन टेवा पुर्याउने उदेश्यले निर्माण गरिएको हो । तर कर्णाली सरकाले स्थापना गरेको कार्यविधि अनुसार कुनैपनि मापदण्ड पुरा नभएकाले महिना दिन नपुदै हाईटेक नर्सरी भत्कन थालेको छ ।

यसरी करोडौं रकमको लागतमा निर्माण भएको हाइटेक नर्सरी अहिले कामै नलाग्ने गरेर भत्कन थालेको भन्दै स्थानीयले आपत्ति जनाएका छन् । अहिले रामीचौरमा निर्माण भएको नर्सरीमा टनेल निर्माण भएको क्षेत्रको खम्बा भाचिएको छ भने पलास्टिक र अन्य साम्रागीहरु पनि गुणस्तरहिन प्रयोग भएको स्थानियको भनाई छ । उनीहरुले बालुवा धेरैप्रयोग भएको र सिमेन्ट थोरैमात्र प्रयोग भएकाले त्यसरी भत्किएको भन्दै आक्रोस पोखेका छन् ।

करिब ७५६ बर्गमिटरमा निर्माण भएको नर्सरी सिम्ता हाइटेक नर्सरी उपभोक्ता समितिले डिभिजन वन कार्यालय सुर्खेतसँग सम्झौता गरे पनि समितिले पनि नापासिस्ट प्रालि काठमाडौंका प्रतिनिधि प्रल्लाद गौतमलाई ८२ लाखमा ठेक्का दिएको थियो । नर्सरी निर्माण स्थलमा सहजरुपमा यातायात आवतजाउत गर्नुपर्ने निमावलीमा उल्लेख भएपनि त्यसक्षेत्रमा भने सडकनै नपुगेको बताइएको छ ।

उता समितिका अध्यक्ष जगत महताराले नयाँ काम भएको र आफुहरुलाई यसबारे कुनै जानकारी नभएकाले अरुलाई ठेक्का दिनुपरेको बताए । उनले काम गर्नेक्रमा नर्सरीका टनेहरु मापदण्डअनुसार बन्न नसकेको स्वीकार गरे । यता डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्द्रप्रसाद दाहालले यसबारेमा त्यसक्षेत्रमा के भएको छ भन्ने आफुलाई कुनै जानकारी नभएको बताए । उनले सञ्चारमाध्यममा कुरा आएपछि मात्र आफुले थाहा पाएको भन्दै अव त्यसक्षेत्रमा के भइरहेको छ भन्ने जानकारी लिने बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १३:४५