सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना संक्रमणको जोखिम बढेपछि बाँकेमा फेरि ‘लकडाउन’

बाँके । लक्षण भएका संक्रमित देखिन थालेपछि नेपालगन्जमा कोरोना भाइरस (कोभिड–१९)का कारण सर्वसाधारणको स्वास्थ्य जोखिम देखिएको छ । बाँकेमा लक्षण देखिएका संक्रमित फेला पर्नु जोखिमयुक्त अवस्था रहेको भन्दै बाँके प्रशासनले आगामी आइतबारदेखि पुनः लकडाउन गर्ने भएको छ ।

बाँकेमा कोरोना संक्रमणको जोखिम अत्याधिक बढेसँगै बाँके प्रशासनले दोस्रो पटक लकडाउन गर्न लागेको हो । बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरूम्वाङले लकडाउन खोलेसँगै नेपालगन्जमा कोरोना संक्रमित ह्वात्तै बढ्न थालेपछि आइतबारदेखि लकडाउन गर्ने तयारी भइरहेको बताएका छन् ।

‘आइतबारदेखि कडा लकडाउन हुन्छ, अटेरी गर्नेलाई तत्काल पक्राउ गरिन्छ,’ प्रजिअ कुरुम्वाङले भने, ‘बाँकेमा कोरोना संक्रमण फेरि भयावह रुप लिने देखिएपछि लकडाउन गर्नैपर्ने भयो ।’ सरकारले लकडाउन खोलेसँगै बाँके, बर्दिया कोरोनाको अत्याधिक जोखिममा देखिएको छ । लकडाउनपछि गरिएको परीक्षणका क्रममा दैनिकजसो कोरोना संक्रमित भेटिएका छन् ।

राजश्व कार्यालय नेपालगन्जका ११ जना, कर्मचारी यातायात व्यवस्था कार्यालय एक जना, मिठाई पसलेको सम्पर्कमा आएका ब्यक्तिमा कोरोना देखिएपछि प्रशासनले लकडाउनको कदम चाल्न बाध्य भएको उनले बताए । बाँकेमा समुदायस्तरमा कोरोना फैलिन थालेपछि यहाँका आमनागरिक त्रसित बनेका छन् । नेपालगन्जमा कोरोना समुदायस्तरमा फैलिइसकेको छ ।

धेरै चाप हुने आन्तरिक राजस्व कार्यालय र यातायात व्यवस्था कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि समुदायस्तरमै कोरोना भाइरस फैलिएको पुष्टि भएको छ । समुदायस्तरमा कोरोना फैलिन नदिन बाँकेका स्थानीय तहहरुले बेवास्ता गरिरहेका छन् । बाहिरबाट आएका क्वारेन्टिनमा राख्न छोडिएको छ ।

भारतबाट वा जिल्ला बाहिरबाट आउने नागरिक क्वारेन्टिनमा नबसी सोझै घर जाने र सहजै गाउँघरमा घुमफिर गर्दै आएकाले बाँकेमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएको हो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बाहिरबाट जिल्ला भित्रिने जोकोहीलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टिनमा राख्नुपर्छ ।

तर पछिल्लो समय बाँकेका स्थानीय तहहरुले बाहिरबाट आएका व्यक्तिलाई क्वारेन्टिनमा राख्न छाडिसकेका छन् । यतिबेला सरकारको तयारीले मात्र नहुने भन्दै जानकारहरूले आमनागरिक आफैं सुरक्षित हुन आवश्यक देखिएको छ । संक्रमितको संख्या ह्वात्त बढेपछि नेपालगन्ज झनै कोरोना संक्रमणको उच्च जोखिममा रहेको छ ।

बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगन्जको अवस्था पनि भयानक दुखदायी हुनसक्ने चेतावनी दिँदै सुरक्षित रहनका लागि अपिल गरिरहेका छन् । लकडाउन खुलेपछि बाँके कोरोनासंक्रमणको उच्च जोखिममा देखिएपछि फेरि लकडाउन गर्नुपर्ने अवस्था आएपछि प्रशासनले त्यसको तयारी गरिरहेको छ ।

सरकारले लकडाउन फिर्ता लिएसँगै यहाँका बजारहरुमा नागरिकको भीडभाड बढेको छ, सवारी साधन निर्धक्क चलेका छन् । नागरिक सामाजिक दूरी कायमविनै खरिद विक्रीको कारोबार गरिरहेका छन् । बैंक तथा वित्तिय संस्थामा आम नागरिकको भीडभाड छ । त्यसैले पनि पुनः लकडाउन गर्नुपर्ने अवस्था आएको बाँके प्रशासनले जनाएको छ ।

यसले पनि विगतको तुलनमा अहिले कोरोना संक्रमणको जोखिम उच्च देखिएको छ । कोरोना नियन्त्रणका लागि पहल नगरिए आमनागरिकको स्वास्थ्य संकटमा पर्ने देखिएको छ । सरकारले लकडाउन खुला बनाउँदा समुदायस्तरमा कोरोना फैलिएकोले यसको नियन्त्रणका लागि स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले ठोस निर्णय लिई अघि बढ्नुपर्ने नागरिकहरु बताउँछन् ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १३:०७