सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको कहर

आन्तरिक राजश्व कार्यालयका ११ कर्मचारीसहित ३६ जनामा कोरोना संक्रमण

बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्जका ११ जना कर्मचारीसहित ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको स्वाब परीक्षणमा आन्तरिक राजश्व कार्यालयका ११ जना कर्मचारी, नेपालगन्जका १६ जना, बर्दियाका सात र दाङमा दुई जनामा कोरोना देखिएको हो ।

संक्रमित ११ जनामध्ये बाँकेका चार जना, सुर्खेत तथा बर्दियाका दुई/दुई जना, अर्घखाँची, कञ्चनपुर, सर्लाही र प्यूठानका एक/एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज वडा नं. ११, त्रिभुवनचोक आसपासका १३ जना, वडा नं. १०, वडा नं. १३ र १९ नम्बरका एक/एकजनामा कोरोना देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार बर्दियामा क्वारेन्टाइनमा आत्महत्या गरेकासहित सात जनामा कोरोना पुष्टि भएको छ । कोरोना देखिनेमा ठाकुरबाबा, गेरुवाका छन् । दाङमा राप्ती र गढवाका दुई जनामा कोरोना देखिएको छ । भेरी अस्पतालले तीन दिनपछि कोरोनाको रिपोर्ट सार्वजनिक गरेको हो ।

नेपालगन्जमा समुदायस्तरमा कोरोना फैलिएसकेको चिन्ता गरिरहदा बढी भीडभाड हुने त्रिभुवन चोक आसपास र सेवाग्राही झुम्मिने आन्तरिक राजश्व कार्यालयका कर्मचारीमा कोरोना देखा परेको छ । यसअघि त्रिभूवन चोकका एक जना मिठाइ पसलेमा संक्रमण देखिएको थियो । आज संक्रमण देखिएकाहरु उनकै सम्पर्कमा रहेकाहरु भएको बताइएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार १२:०६