बैतडी । भारतले आज पनि धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्न लागेको छ । उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको सो बाँध आज राति १२ बजेदेखि भोली बेलुकी पौने सात बजेसम्म खोलिने एनएचपीसी लिमिटेड र धौलीगंगा पावरस्टेसनले जानकारी दिएको छ ।
भारतले धौलीगंगा बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्याँस गाउँपालिका–५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । यस्तै, बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी किनार आसपास नजान अनुरोध गरिएको छ ।
दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउन स्थानीयहरूलाई नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । शिल्ट फ्लशिङ्ग र सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको जानकारी प्राप्त भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिएका छन् ।
बाँध खोले पश्चात महाकाली नदीमा पानीको सतह घटबढ भइराख्ने हुनाले सतर्क रहन आग्रह गरिएको छ । उता, परियोजनाले पानीको मात्रा बढ्ने भएकोले बेलाबेलामा नियमित सरसफाइ गर्नुपर्ने भन्दै बाँध खुला गर्ने गरेको छ । वि.सं. २०७० मा धौलीगंगाको बाढीका कारण दार्चुला सदरमुकाममा अर्बौं रुपैयाँ बराबरको क्षति भएको थियो ।
२८० मेगावाट विद्युत् क्षमता रहेको धौलीगंगा परियोजनाको बाँध खोल्नुअघि पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि नेपालतर्फ पूर्वसतर्कता अपनाउन सजिलो भएको छ । भारतले बाँध खोल्ने जानकारीसहितको पत्र पठाएपछि नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई यसबारे जानकारी गराउँदै आइरहेको छ । यसअघि गत असार १५ गते राती १२ बजेदेखि असार १६ गते बेलुका पौने ७ बजेसम्म यो बाँध खोलिएको थियो ।
सत्यपाटी ।