सूचनाको शक्ति - The Power Of Information

        

व्यवसाय

व्यवसायीलाई भाडा छुट, घरधनी सम्मानित

बाँके । गत चैत्र ११ गतेदेखि भएको लकडाउनका कारण बजार, व्यवसाय बन्द रह्यो । व्यवसाय बन्द हुँदा व्यवसायीहरुलाई आर्थिक बोझ थपिँदै गयो । यहिबेला नेपालगन्जका एक घरधनीले व्यवसायीको बोझ कम गरिदिएका छन् । नेपालगन्ज उपमहानगरपालिका–१८ का हरदेव बक्स कुर्मीले ९ जना व्यवसायीलाई घरभाडा छुट दिएका छन् ।

कोरोना रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण लामो समय व्यापार बन्द हुँदा व्यापार व्यवसायमा सहजता तथा राहतका लागि भाडामा बसेका व्यवसायीलाई भाडा छुट गरेको घरधनी कुर्मीले बताए । उनले भने, ‘बन्द भएको समयमा व्यवसायीलाई थोरै भए पनि राहत होला भनेर भाडा छुट गरेको हुँ ।’

घरधनीले लकडाउन अवधीमा १ महिनाको झण्डै एक लाख ५० हजार रुपैयाँ बराबरको घरभाडा छुट गरेका छन् । जसले गर्दा उनको घरमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई निकै ठूलो राहत भयो । घरधनी कुर्मीले कोरोना कहरका कारण व्यवसाय ठप्प भएकाले व्यवसायीको मर्का बुझेरै घरभाडा छुट दिने निर्णय गरेको बताए ।

कोरोना कहर र त्यसपछिको लकडाउनका कारण थलिएका व्यवसायीका लागि घरभाडा छुट दिएपछि राहत महसुस भएको व्यवसायी सुदीप देवकोटाले बताएका छन् । घरभाडा छुट दिएपछि व्यवसायीहरुले घरधनीलाई सम्मानसमेत गरेका छन् । ‘व्यवसाय धरासायी भएका बेला घरधनीले छुट दिएर ठूलो गुण लगाउनुभएको छ,’ देवकोटाले भने ।

व्यवसाय नचलेर हैरान भएका बेला भाडा छुटले राहत मिलेको देवकोटाले बताए । कोरोना संकटका बेला व्यवसायीलाई साथ दिने घरधनीसँग व्यवसायीको सम्बन्ध अझ राम्रो भएको अर्का व्यवसायी सनिप रिजालले बताए । व्यवसाय धरासायी भएका बेला घरधनी र व्यवसायीबीच अझै हातेमालो जरुरी रहेको रिजालले छ ।

चार महिनादेखि पसल, व्यवसाय पूर्णरुपमा बन्द हुँदा व्यवसाय तहसनहस रहेका बेला घरभाडा छुट दिएपछि आफूहरुलाई खुसी लागेको अर्का व्यवसायी खड्कबहादुर थापाले बताए । कोरोना कहरका बेला सरकारको मात्र मुख ताक्नेभन्दा सबैले एक अर्काबीच पीडामा साझेदारी गर्नुपर्ने थापाले बताए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार ०७:५०