सूचनाको शक्ति - The Power Of Information

        

भ्रष्टाचार

प्रादेशिक महोत्सवको २५ लाख रुपैयाँ हिनामिना

बाँके । गत बर्ष नेपालगन्जमा महिला उद्यमीहरुले सञ्चालन गरेको ‘दोस्रो प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि प्रविधि व्यापार एंव पर्यटन महोत्सव–२०७६’ मा एक बर्षपछि विवादमा तानिएको छ । घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिले सञ्चालन गरेको महोत्सवको हरहिसाब सार्वजनीक नभएपछि उजुरीसमेत परेको छ ।

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समिति र नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँकेको आयोजना तथा प्रदेश नम्बर ५ बुटवलको संरक्षणमा २०७६ पुष ११ गते देखि २१ गतेसम्म नेपालगन्जमा सञ्चालित महोत्सवको हरहिसाब सार्वजनीक नगरेरै लाखौं रकम हिनामिना गरेको खुलासा भएको छ । यस बिषयमा बुझ्न आरोपित सह–संयोजक मिना सुवेदी ढकालसँग टेलिफोन सम्पर्क हुन सकेन ।

घरेलु तथा साना उद्योग महासंघ नेपालगन्ज उपमहानगर समितिका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक रचना श्रेष्ठ र मेला कोषाध्यक्ष तथा आर्थिक समिति संयोजक मोहम्मद वाहाव खाँले महिला उद्यमी समिति तथा मेला सह–संयोजक मिना सुवेदी ढकालविरुद्ध अख्तियार द्रुपयोग अनुसन्धान आयोग बुटवल सम्पर्क कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेलाई बोधार्थ दिँदै जिल्ला प्रशासन कार्यालय बाँकेमा उजुरी दिएका छन् ।

महोत्सव मुल आयोजक समितिका संयोजक श्रेष्ठ र मेला समितिका कोषाध्यक्ष तथा आर्थिक समितिका संयोजक खाँद्वारा हस्ताक्षरित उजुरीमा मेला सह–संयोजक ढकालले मेलामा उठेको प्रायोजक, सह–प्रायोजक र टिकटको रकमबाहेक नेपाल सरकारबाट प्राप्त २५ लाख रुपैयाँ हिनामिना गरेको उल्लेख छ । प्रायोजक, सह–प्रायोजक र टिकट बिक्रीबाट उठेको रकम पनि ढकालले नै हिनामिना गरेको उजुरीमा लेखिएको छ ।

मेला समितिको खाता हुँदाहुँदै ढकालले छुट्टै बैंक खाता खोलेर सरकारबाट प्राप्त २५ लाख र अन्य शीर्षकबाट उठेको रकम सोही खातामा जम्मा गरी सबै रकम हिनामिना गरेको मेला संयोजक श्रेष्ठ र आर्थिक संयोजक खाँले आरोप लगाएका छन् । मेलाको सम्पूर्ण रकमको हरहिसाब माग्दा ढकालले हरहिसाब दिन दिनुको साटो उल्टै ज्यान मार्ने धम्की दिएको पनि उजुरीमा उल्लेख गरिएको छ ।

‘सहसंयोजकले छुट्टै बैंक खाता खोली प्रायोजकको रकम, सहप्रायोजकको रकम र नेपाल सरकारबाट प्राप्त २५ लाख र टिकटबाट उठेको रकमसमेत गैह्रकानूनी तरिकाले जम्मा गराइ हिनामिना गर्नुभएको छ,’ उजुरीमा लेखिएको छ, ‘हिसाब माग्दा ढकालले उल्टै ज्यान मार्ने, कुनै पनि मुद्दामा फसाई दिने धम्की दिएकोले निवेदनको अन्तिम नहुँदासम्म उक्त खाता रोक्का गरी, महोत्सवको सम्पूर्ण रकम नगर समितिको खातामा जम्मा गराई, नीज ढकाललाई कानून बमोजिम कारवाही गरी हाम्रो जीउज्यानको शान्ति सुरक्षा गरी पाऊँ ।’

उजुरीकर्ताले मेलाको लाखौं रकम हिनामिना भएको भनि संस्थाकै प्रमुख व्यक्ति अध्यक्ष र कोषाध्यक्षले प्रशासनमा उजुरी दर्ता गराउँदा पनि जिल्ला प्रशासन कार्यालयले गम्भीररुपमा नलिएको गुनासो गरेका छन् । कारवाहीको दायरामा ल्याउनुको साटो सरकारलाई कर तिरेर आपसमा मिल्न भनि पठाएको भन्दै कारबाहीबाट बचाउन खोजेको आरोप छ । जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उजुरी परेको जानकारी दिँदै आरोपितलाई तारिख लगाएको र त्यस विषयमा अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार १३:४९