बाँके । सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष्य नजिक नेपाल पुगेको छ । पछिल्लो गणना सन् २०१८ अनुसार नेपालमा पाटे बाघको सङ्ख्या २३५ वटा थियो । यो सङ्ख्या मात्र वयस्क बाघको हो ।
नेपालको प्रतिबद्धता अनुसार सन् २०२२ भित्र नेपालले २५० बाघको सङ्ख्या पुर्याउनुपर्नेछ । हालको सङ्ख्यामा १५ वटामात्र बाघ थपिए पनि प्रतिबद्धता पूरा गर्ने देश सहजै बन्नेछ । ‘गणनाका लागि क्यामरा ट्र्यापिङ गर्दा प्रशस्त बाघका डमरु देखेका छौँ, तर सबैको गणना भएको छैन,’ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता विष्णुप्रसाद श्रेष्ठले भने ।
त्यस अवधिमा देखिएका र सन् २०२१ भित्र थपिने सङ्ख्याले नेपालले लक्ष्य सहजै भेट्ने विश्वास उनले व्यक्त गरे । यसअघि सन् २०१० मा नेपालसँग १२१ वटा बाघ थिए । सन् २०१३ को गणनामा १९८ वटा बाघ पुगेको थियो । बाघ संरक्षण कार्ययोजना बनाएर नेपालले बाघ संरक्षण गरिरहेको छ ।
बाघको बासस्थान, पानीको स्रोत र प्रजातिको संरक्षणलाई मुख्य प्राथमिकता दिइएको छ । बाघको सङ्ख्या बढेपछि देखिएको मानव बाघ द्वन्द्वको नयाँ चुनौती सामना र अनुकूलन गर्न योजनाअनुसार काम भइरहेको छ । यसमा बाघको आक्रमणमा परेकालाई राहत तथा समुदायलाई बाघमैत्री बनाउन सरकार अग्रसर छ ।
सन् २०१० मा रुसमा बाघ पाइने देशको सम्मेलन भएको थियो । नेपालसहित १३ देशले सन् २०२२ सम्म पाटे बाघको सङ्ख्या दोब्बर बनाउने प्रतिबद्धता जनाएको थियोे । जसअनुसार नेपाल सबै मुलुकमध्ये लक्ष्य नजिक रहेको पहिलो मुलुक बन्ने दाबी बाघविज्ञ डा. चिरञ्जीवी पोखरेल गर्छन् ।
उनका अनुसार पाटेबाघ पाइने १३ मुलुकमध्ये कतिपयमा बाघ संरक्षणको पहल नभएको पाइएको छ । नेपाल, भारत, बङ्गलादेश र भुटान बाघ दोब्बर बनाउने अभियानमा हाल लक्ष्यउन्मुख छ । चीन, लाओस, म्यानमार, कम्बोडिया, भियतनाम लगायतका देशमा बाघको सङ्ख्या उभो लाग्न सकेको छैन ।
विश्वमा कम्तीमा चार हजार पाटेबाघ रहेको अनुमान छ । हालसम्म भएका अध्ययन अनुसार विश्वमा ९७ प्रतिशत बाघको बासस्थान घटेको छ । पारिस्थितिक प्रणालीको मुख्य चर बाघ हो । यो रहेमात्र अन्य वन्यजन्तु रहने भएकाले पाटे बाघको वृद्धि जरुरी रहेको पोखरेलले बताए । बाघ वनकै सुन्दर वन्यजन्तु हो ।
चार वर्षमै दोब्बर
दुई वर्षपछि पाटेबाघको संख्या अढाई सय पुर्याउने सरकारको लक्ष्य पूरा हुने दिशामा नेपाल अग्रसर देखिएको बाघ विज्ञहरूले बताएका छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि बाघ गणनाको तथ्याङ्क हेर्दा लक्ष्य पूरा गर्न सकिने ठानेको छ ।
तर लक्ष्य पुरा गर्न बाघको संख्या धेरै बढ्नुपर्ने अवस्था नरहे पनि भएकै बाघको संरक्षणका लागि वासस्थान र उनीहरूको आहारा लगायतमा ध्यान दिनुपर्ने संरक्षणविद्हरूले औंल्याएका छन् । बाघ पाइने विश्वभरका १३ वटा राष्ट्रले सन् २०१० मा रुसको सेन्ट पिटर्सबर्गमा बाघको जनसंख्या बढाउनेबारे आ–आफ्नो प्रतिबद्धता जनाएका थिए ।
नेपालले बाघको संख्या १२१ बाट सन् २०२२ मा २५० पुर्याउने लक्ष्य घोषणा गरेको थियो । त्यसयता पहिलो पटक सन् २०१४ मा सार्वजनिक भएको बाघको संख्या १९८ र सन् २०१८ मा २३५ पुगेकोमा सन् २०२२ मा बाघको तस्बिर र तथ्यांकको विश्लेषणका आधारमा गरिएको बाघको गणनाले त्यो संख्या लक्ष्य सहजै पुरा हुने देखिन्छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पाँच निकुञ्जमध्ये पर्सामा १८, चितवनमा ९३, बाँकेमा २१, बर्दियामा ८७ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ पाइएका छन् । विगत चार वर्षमा ३७ वटा बाघ बढेको आकलन गरिएकोले अबको चार वर्षमा लक्ष्य पूरा गर्न जम्मा १५ वटा बाघको थपिनुपर्ने देखिन्छ ।
त्यसका लागि बढ्दो जनसंख्या र शहरीकरण चुनौतीपूर्ण रहेको बताउँछन् बाघबारे विद्यावारिधि गरेका चिरञ्जिबीप्रसाद पोखरेल बताउँछन् । उनले भने, ‘मानव र वन्यजन्तुको द्वन्द्वको कुरा, चोरी शिकारी रोकथाम गर्न र जनावरको स्वास्थ्यसम्बन्धी विभिन्न रोगको अनुसन्धानजस्ता विषयमा ध्यान दिनुपर्ने चुनौती छ ।’
नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको छ । सन् २०१६ को तथ्याङ्क अनुसार सबैभन्दा बढी भारतमा २ हजार २२६, सबैभन्दा कम लाओसमा २ वटा बाघ पाइएको थियो ।
इन्डोनेसिया, कम्बोडिया, चीन, थाइल्यान्ड, नेपाल, बङ्गलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यानमार, रसिया र लाओसमा बाघ पाइन्छ । विश्वभर बाघको सङ्ख्या भने ३ हजार ८९० रहेको छ । नेपालको तराई–भूपरिधि क्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि (६८ प्रतिशत) मा बाघको उपस्थिति रहेको देखिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल भन्छन्, ‘बाघका लागि आहारा र बस्ने ठाउँको व्यवस्थापनसँगै चोरी सिकार नियन्त्रणमा आएकाले बाघको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ ।’ यसअघि निकुञ्जमा वन्यजन्तुका लागि सबैभन्दा बढी खानेपानीको समस्या थियो। सुक्खा क्षेत्र भएकाले निकुन्जभित्र पानीको मुहान भेट्न सजिलो थिएन ।
पानीका लागि बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु कर्णाली र बबई नदी तथा बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु राप्ती नदी किनारमा जाने गर्थे । सन् २०१८ को अध्ययन प्रतिवेदन अनुसार नेपालमा बाघको सङ्ख्या २३५ रहेको छ । बराल भन्छन्, ‘सबैभन्दा बढी ९३ वटा बाघ चितवन राष्ट्रिय निकुञ्जमा भए पनि वृद्धिका दरले बाँके र बर्दिया अगाडि रहेका छन् ।’
चितवनमा यसअघि बाघको संख्या १२० रहेकोमा सन् २०१८ को गणनामा संख्या घटेर ९३ मा झरेको उनले बताए । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्ज ९६८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु सडक दुर्घटनामा पर्ने जोखिम रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर र कोहलपुर–बबई रत्न राजमार्गको ३० किलोमिटर छ । राजमार्गको दूरी लामो भएकाले राति सडक पार गर्ने क्रममा निकुञ्जका बाघ लगायतका वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् । निकुञ्जका अनुसार पाँच वर्षको अवधिमा सडक दुर्घटनामा झण्डै ३०० जनावरको मृत्यु भएको छ ।
त्यसरी मृत्यु हुने अधिकांश जनावरहरू पानीको खोजीका लागि सडक पार गर्ने क्रममा भएको निकुञ्जले जनाएको छ । बाँके राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत प्रमोद भट्टराई भन्छन्, ‘सडकमा जथाभावी फ्याँकिएका खानेकुरा खान जाँदा पनि केही जनावर गाडीको ठक्करले मारिएका छन् ।’
गत वर्ष दुर्घटनाको जोखिममा परेका झण्डै ५०० वन्यजन्तुको उद्धार गरिएको थियो । बाँके राष्ट्रिय निकुञ्जलाई सरकारले एक सय पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ । पर्यटकको सङ्ख्या वृद्धिका लागि व्यवस्थापनमा ध्यान दिएको निकुञ्जले जनाएको छ । बाघ अवलोकनका लागि निकुञ्जले जङ्गल सफारीको व्यवस्था मिलाएको छ ।
बाघ हेर्नकै लागि थुप्रै पर्यटक निकुञ्ज आउने गरेका छन् । बाघको सङ्ख्या तीव्र गतिमा वृद्धि भइरहेकाले निकुञ्ज वरिपरिका वनहरूमा पनि वासस्थानको व्यवस्था मिलाउनुपर्ने देखिएको छ । विकासका नाममा वनजङ्गल मास्ने काम भइरहेकाले आगामी दिनमा बाघको वासस्थान अभाव हुने देखिएको छ ।
निकुञ्ज क्षेत्रमा हाल चोरी सिकारी नियन्त्रणमा रहे पनि सुरक्षा व्यवस्था कमजोर भएमा फेरि यस्ता गतिविधि मौलाउन सक्ने निकुञ्जका अधिकारीको भनाइ छ । यस्तो कारोबारमा संलग्नलाई पाँचदेखि १० लाख रुपैयाँसम्म जरिवाना वा पाँचदेखि १५ वर्षसम्म जेल सजाय या दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
सत्यपाटी ।