सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेसमा भित्रिए राप्रपा छोडेका सुनिल थापा 

काठमाडौं । राप्रपाका संस्थापक अध्यक्ष सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा राप्रपा छोडेर कांग्रेस प्रवेश गरेका छन् । थापालाई सभापति शेरबहादुर देउवाले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच स्वागत गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका थापासहित ५० जना राप्रपाका नेता तथा कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गरेका हुन् । थापासँगै राप्रपाका ९० भन्दा धेरै नेता तथा कार्यकर्ता कांग्रेस प्रवेश गरेका छन् ।

थापाले आफू कांग्रेसमा प्रवेश गर्दा महामन्त्री र केही केन्द्रीय सदस्य पाउनुपर्ने माग गरेका थिए । महामन्त्री दिने विषयमा पार्टीभित्र चर्काे आलोचना भएपछि देउवाले महामन्त्री दिन नसक्ने र सहमहामन्त्री दिन सक्ने बताएका थिए । अन्ततः थापाले देउवाको प्रस्ताव स्वीकार्दै सहमहामन्त्री पद लिएर कांग्रेस प्रवेश गरेका हुन् । यद्यपि आजको पार्टी प्रवेश कार्यक्रममा पदीय जिम्मेवारी भने नदिइएको थापाका सहयोगकी अरुण शर्माले जानकारी दिए ।

थापा कांग्रेस प्रवेश गर्ने हल्ला गत वर्षको माघमै चलेको थियो । यो बीचमा सभापति देउवाले पार्टी उपसभापति विमलेन्द्र निधिलाई थापासँग छलफलको जिम्मा दिएका थिए । राप्रपा एकतासँगै थापालगायत उनको समूह असन्तुष्ट थिए । थापाले राप्रपामा गणतन्त्रका पक्षमा आवाज उठाउँदै आएका थिए । थापासहित ३१ नेताले शनिबार संयुक्तरूपमा राप्रपामा राजीनामा दिएका थिए ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार १७:५१