बाँके । नेपालगन्ज विमानस्थल कर्णाली र सुदूरपश्चिममा पहाडी तथा हिमाली भेगमा उडान हुने हब विमानस्थलको स्तरोन्नती भइरहेको छ । काडमाडौं बाहिर सबैभन्दा धेरै उडान भर्ने नेपालगन्ज विमानस्थलभित्र जहाज पार्किङका लागि पार्किङस्थलको निर्माण सकिएको छ ।
पर्यटकीय तथा चाडवाडका बेला विमानस्थल अति व्यस्त रहन्छ । यो सिजनमा दैनिक ५०–६० उडान हुन्छन् । २८ करोड ५३ लाख ४० हजार ९४३ रूपैयाँ खर्चेर पार्किङस्थलको निर्माण कार्य पुरा भएको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जले जनाएको छ ।
पर्याप्त भौतिक पूर्वाधार र पार्किङस्थल अभावले व्यवस्थापनमा भने निकै मुस्किल हुने गरेकोमा पार्किङस्थल निर्माणपछि अब जहाज आकासमै होल्ड गर्नुपर्ने अवस्था हटेको नेपाल नागरिक उड्डयन प्राधिकरण नेपालगन्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिए ।
पार्किङ क्षेत्रको विस्तारपछि विमानस्थलमा हवाई सुरक्षा अभिवृद्धिमा टेवा पुगेको उनको विश्वास छ । मोफसलमा सबैभन्दा बढी उडान हुने नेपालगन्ज विमानस्थलमा जहाज पार्किंङका लागि प्रयाप्त पार्किंङस्थल नहुँदा यसअघि जहाज राख्न निकै समस्या हुने गरेको थियो ।
कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनकै समयमा भएको निर्माण गतिले यहाँको पार्किंङस्थल निर्माणको काम पुरा भएको हो । जहाज पार्किंङस्थल निर्माणको काम पुरा भैसकेकोले केही समयभित्रै औपचारिकरुपमा सञ्चालनमा ल्याइने उनले बताए ।
नागरिक उड्डयन कार्यालयका प्रमुख प्रेमनाथ ठाकुरका अनुसार भर्खरै निर्माण सकिएको पार्किङस्थलमा ८ वटा एटीआर ७२ विमानलगायत अन्य साना धेरै जहाजहरु पनि त्यहाँ सहजरुपमा पार्किङ गर्न सकिनेछ ।
‘पार्किंङस्थलकै अभावका कारण धेरैपटक जहाजहरुलाई आकाशमै होल्ड गराएर राख्नुपर्ने बाध्यता थियो विमानस्थलका एटीसी प्रमुख योगेन्द्र कुँवरले भने, ‘अब यो समस्याको समाधान भएको छ ।’
विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्डको बनाउन ‘मास्टर प्लान’ अनुसार काम भइरहेको छ । त्यसका लागि १२ अर्ब ५० करोड लाग्ने अनुमान गरिएको छ । अहिले नेपालगन्ज विमानस्थल १६६ विगाहमा छ ।
त्यसमा सय विगाह जमिन थप्ने, तत्काल नै २०० मिटर रन वे थप्ने र भविष्यमा यसलाई दुई हजार ६०० मिटर बनाउने, विमानस्थललाई पूर्वतिर बिस्तार गर्ने, डुडुवा खोलालाई डाइभर्सन गर्नेलगायतको मास्टर प्लान बनिसकेको हो ।
यहाँबाट काठमाडौ–नेपालगन्ज दिनभरिनै उडान भैरहन्छ । कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा विहान र अपरान्हमात्र उडान गर्नुपर्ने भएकाले विमानस्थलमा जहाजहरु पार्किंङ गरेर राख्न निकै समस्या हुने गरेको थियो ।
नेपालगन्ज विमानस्थलबाट नेपाल एअरलाइन्स, श्री एयर, सौर्य एयर, बुद्ध एयर र तारा एयरले काठमाडौं लगायत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी जिल्लाहरुमा उडान भर्दै आएका छन् ।
काठमाडौंबाट भने श्रीएयरलाइन्स, बुद्ध एयरलाइन्स र यति एयरलाइन्स लगायतले नियमित उडान गर्ने गर्दै आएका छन् । यस विमानस्थलमा हुम्लाको सिमिकोट, जुम्ला, बाजुरा, डोल्पा, मुगुको ताल्चा, अछामको साफेबगरमा क्षेत्रीय उडान हुन्छ ।
यसबाहेक मध्यपश्चिम तथा कर्णाली भेगका मानिस नेपालगन्ज झरिसकेपछि काठमाडौं जान पनि यही विमानस्थल प्रयोग गर्दै आएको प्राधिकरणका प्रमुख ठाकुर बताउँछन् । भारतीय पर्यटकहरू पनि नेपालगन्जबाट ठूलो संख्यामा काठमाडौं जाने गरेका छन् ।
सत्यपाटी ।