सूचनाको शक्ति - The Power Of Information

        

लगानी मोडालिटी

भेरी–बबई डाइभर्सनमा लगानी : सरकारको ५१ र जनताको ४९ प्रतिशत

काठमाडौं । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय (सिँचाइ/जलविद्युत) आयोजनाको लगानी मोडालिटी करीब टुंगो लागेको छ । ऊर्जा, जलश्रोत तथा सिँचाइ मन्त्रालयले जनताको जलविद्युत् कार्यक्रम अन्तरगत कम्पनी मोडलमा लगानी मोडालिटीको टुंगो लगाएको हो ।

ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सम्वद्ध सरोकारवालाहरूको बैठक डाकेर उक्त आयोजनाको लगानी मोडालिटीबारे छलफल गरेका थिए । बैठकमा मन्त्री पुनले संघ, प्रदेश र स्थानीय तह तथा सरकार मातहतका निकाय, आयोजना प्रभावित र लाभग्राही तथा सर्वसाधारण समेतको लगानी रहने गरी लगानी मोडालिटी प्रस्ताव गरेका छन् ।

मन्त्री पुनको लगानी प्रस्तावमा सहमति जुटेको जलश्रोत तथा सिँचाइ मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले जानकारी दिए । भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाका संयोजक तथा ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवालका अनुसार संघबाट २६ प्रतिशत, कर्णालीप्रदेश सरकारबाट २० प्रतिशत तथा आयोजना निर्माण हुने सम्बन्धित स्थानीय तहबाट ५ प्रतिशत गरी सरकारी लगानी ५१ प्रतिशत हुनेछ ।

यस्तै देशभरका सर्वसाधारणबाट २९ प्रतिशत, कर्णाली प्रदेशका सर्वसाधारणबाट १० तथा आयोजना प्रभावित क्षेत्रका बासिन्दाबाट १० प्रतिशत लगानी हुने गरी ढाँचा तयार भएको भेटवालले बताए । उक्त लगानी शेयरमार्फत हुनेछ । यसअघि सिँचाइ मन्त्रालय अन्तरगतको सिँचाइ विभागले मात्र लगानी गर्ने बताइएको थियो ।

उक्त आयोजनाबाट बाँके र बर्दियाका ५१ हजार हेक्टर जमीनमा बाह्रै महीना सिँचाइ सुधिवा पुर्याउने लक्ष्य मन्त्रालयको छ । भेरी नदीको ४० मनमिटर (प्रति सेकेन्ड) पानी बबईमा फर्काएर यो आयोजनाको निर्माण हुने छ । त्यसबाट ४६ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने छ । उक्त विद्युत् रन अफ द रिभर आयोजनाबाट उत्पादन हुने करीब १५० मेगावाट बराबर हुने आयोजनाका संयोजक सह–सचिव भेटवालको भनाइ छ ।

हाल आयोजनाको सुरुङ निर्माणको काम सम्पन्न भइसकेको छ भने हेडवक्र्स तथा विद्युत् गृह निर्माण शुरू भएको छ । आर्थिक वर्ष २०७९र८० मा आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको मन्त्री पुनले बताए । आयोजना निर्माणको जिम्मेवारी मन्त्रालय अन्तर्गतको जलश्रोत तथा सिँचाइ विभागलाई दिइएको छ ।

आयोजना निर्माण सम्पन्न भएपछि त्यसको व्यवस्थापन तथा सञ्चालन भने शेयरधनीहरू संघ, प्रदेश, स्थानीय तह र सर्वसाधारणका प्रतिनिधि रहेको कम्पनीमार्फत हुनेछ । त्यसका लागि नेपाल सरकारको स्वामित्व रहने गरी ‘भेरी–बबई डाइभर्सन जलविद्युत् कम्पनी’ नामको सार्वजनिक कम्पनी स्थापना गरिने मन्त्रालयले बताएको छ । आयोजना निर्माणको संशोधित लागत ३३ अर्ब १९ करोड रूपैयाँ छ ।

जसमध्ये सिभिल निर्माण कार्यका लागि ४० प्रतिशत, शुरूङ निर्माणका लागि ३५ प्रतिशत, सुरुङ निर्माण परामर्श सेवाका लागि २ प्रतिशत तथा इलेक्ट्रो मेकानिकल निर्माण तथा जडानका लागि ११ प्रतिशत रकमल गानी हुने छ । आयोजना सम्पन्न भएपछि कृषिबाट वार्षिक ३ दशमलव १० अर्ब तथा विद्युतबाट ३ दशमलव २३ अर्ब गरी ६ दशमलव ३३ अर्ब रूपैयाँ आम्दानी हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ०८:५७