सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

वडा सदस्य जित्न नसक्ने कांग्रेसमा केन्द्रीय सदस्य !

काठमाडौं । नेपाली कांग्रेसमा राजावादी र पञ्चहरू प्रवेश गर्ने अन्तिम तयारी गरिरहेका बेला उनीहरूलाई दिन लागेको पद र जिम्मेवारीका विषयमा ठूलो प्रश्न उठेको छ । पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरासमेत रहेका राप्रपाका नेता सुनिलबहादुर थापा नेता तथा कार्यकर्ताहरूसहित कांग्रेसमा प्रवेश गर्दैछन् ।

कांग्रेस प्रवेश गर्न लागेका थापामात्रै राजनीतिक उचाइँ भएका नेता हुन् । धनकुटा जिल्लाबाट प्रतिनिधि सभाको निर्वाचनमा निर्वाचित भएका र मन्त्री बनिसकेका थापालाई उपयुक्त जिम्मेवारी दिए पनि अन्य नेता तथा कार्यकर्ताहरूलाई केन्द्रीय कार्यसमितिमा स्थान दिन लागिएको छ । स्रोतका अनुसार थापालाई कांग्रेसको सहमहामन्त्री बनाउने तयारी भएको छ । थापाले आफूलाई पाँचदेखि दश जना केन्द्रीय सदस्य माग गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिले थापालाई पाँच वटा केन्द्रीय सदस्य दिन तयारी गरेका छन् । थापाले वडा सदस्य जित्ने हैसियत समेत नरहेकालाई केन्द्रीय सदस्य बनाउने तयारी गरेका छन् । नेपाली कांग्रेसमा वर्षौंदेखि पार्टी बनाउन संघर्ष गरिरहेका सयौँ नेता तथा कार्यकर्ता रहेका बेला कांग्रेस नेतृत्वले वडा सदस्यहरू समेत जित्न नसक्नेलाई केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य बनाउन लागेपछि विरोध भएको छ ।

प्रतिनिधि सभामा सरकारका हर्कतहरूको सशक्तरुपमा भण्डाफोर गर्दै आएका सांसद दीव्यमणि राजभण्डारी, सांसद प्रकाश रसाइली ‘स्नेही’जस्ता नेताहरू ओझेलमा परेका छन् । अहिले संसदमा नरहे पनि पूर्वसांसद तथा युवा नेता रामहरि खतिवडाहरूले सडकबाटै सरकारविरुद्ध सशक्तरुपमा आवाज उठाउँदै आएका छन् । राजभण्डारी, रसाइली, खतिवडाजस्ता धेरै नेताहरूलाई बाहिर राखेर कांग्रेस नेतृत्वले वडा सदस्य जित्ने हैसियत नभएका राजावादी र पञ्चहरूलाई पार्टीमा भित्र्याउन लागेकोमा असन्तुष्टि भएको छ ।

सुनिलबहादुर थापालाई पार्टीको विधान मिचेर सहमहामन्त्री र केन्द्रीय सदस्यहरू बनाउन लागेका बेला कांग्रेसका होनहार नेताहरूको मानमर्दन हुने गरेर नेतृत्वले गतिविधि गरेको आरोप लागेको छ । कांग्रेसमा प्रवेश गर्नेलाई स्थान दिइनुपर्छ । तर, स्थान दिँदा पार्टी प्रवेश गर्नेहरूको हैसियतअनुसारको जिम्मेवारी दिनुपर्ने कांग्रेसका नेताहरूको माग छ । कांग्रेसका नेताहरूले वडा सदस्य नै जित्न नसक्नेहरूलाई केन्द्रीय सदस्य नबनाउन जोडदार माग उठेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलवार ०८:१५